सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–१ का बासिन्दा साँझ पर्नेबित्तिकै घरको ढोका थुनेर भित्रै बस्न बाध्य भएका छन् । साँझ परेसँगै चितुवा मानवबस्ती नजिक देखिन थालेपछि त्यसक्षेत्रका मानिस सतर्कता अपनाउन घर बाहिर निस्किन छाडेका हुन् । साँझ ७ः३० बजेपछि सबै घरका मानिसले ढोका थुनेर बस्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । रातको समयमा शौच गर्न पनि बाहिर जान डर हुने गरेको स्थानीयवासीको भनाइ छ । मञ्चमाया सारुले भने, “सहर बजारको घर भए पो घरभित्रै शौचालय निर्माण गरिएको हुन्छ, तर गाउँघरतिर प्रायः शौचालय बाहिर नै बनाइन्छ”, उनले भने, “बाँच्नु त प¥यो नि बाहिर निस्कन डर लाग्छ ।” चितुवाले आफ्नो करिब रु ३० हजार मूल्य बराबरको खसी खाइदिएर क्षति बनाएको उहाँले दुखेसो पोख्नुभयो । एक सातामा उक्त क्षेत्रमा चितुवाको आक्रमणबाट एक बालकको ज्यान जानुका साथै एक बालिकासहित तीन मानिस घाइते भएका छन् । चितुवाको आक्रमणबाट पाँच वर्षीय सुप्रिम बगाले बगरको मृत्यु भएको छ । चितुवाको आक्रमणबाट आठ वर्षीय रियाना थापा, ३४ वर्षीय मिलाल बरायाञ्जा र एक महिला घाइते भएका छन् । चितुवाका आक्रमणबाट मानवीय क्षति भएपछि स्थानीय छपेली सामुदायिक वनमा तीन वटा खोर राखेर पासो थापिएको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिए । सचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै सुरक्षित भएर बस्न स्थानीय बासिन्दालाई आग्रह गरिएको उहाँले बताउनुभयो । चितुवाका लागि खोर राखिए पनि हालसम्म चितुवा पासोमा पर्न सकेको छैन । जिल्लामा हालसम्म चितुवाको आक्रमणबाट बाह्र जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । चितुवा देखिएमा तत्काल खबर गर्न स्थानीय बासिन्दालाई आग्रह गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । साँझ र बिहानको समयमा सुरक्षित भएर हिँड्डुल गर्न अनुरोध गरिएको उनले बताए ।
बाघले भरियो खोर
चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन् । थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा रहेका बाघलाई छोड्नु वा अन्यत्र पठाउनुको विकल्प निकुञ्जसँग छैन । निकुञ्जको मुख्य कार्यालय कसरामा दुईवटा खोरमा बाघ छन् । तीमध्ये एउटा बाँकेबाट ल्याइएको झण्डै आठ वर्षको भाले बाघ हो । दोस्रो निकुञ्जकै देवनगर वेलसहर सामुदायिक वनमा दुई वर्षअघि नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ हो । निकुञ्जको वन्यजन्तु अस्पताल सौराहामा यही वैशाख २७ गते राप्तीबाट नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघ रहेको छ । निकुञ्जका अनुसार भरतपुरको राधाकृष्ण सामुदायिक वनमा गएको बिहीबार नियन्त्रणमा लिइएको अन्दाजी सात वर्षको भाले बाघ वन्यजन्तु अस्पतालको खोरमा राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार कसरामा दुईवटा बाघ अट्ने गरी एउटा खोर बन्दै छ । झण्डै एक महिनामा सक्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कसरामा रहेका दुई खोरमध्ये एउटा कच्ची खोर हो भने एउटा पक्की हो । कच्चीलाई पनि मर्मत गरेर तयारी अवस्थामा राखिँदै छ । हाल सो खोरमा बाघ रहेकाले छोडेपछि वा नयाँमा सारेपछि खोरको मर्मत गरिने छ । आचार्यले भने, “तत्काल बाघ नियन्त्रण गर्नुपर्ने भएमा हामीसँग ठाउँ छैन । भइरहेकालाई अवस्था हेरेर छोड्नुको विकल्प छैन ।” यसवर्ष धेरै बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएको उनले जानकारी दिए । चालू आर्थिक वर्षमा हालसम्म बाघको आक्रमणबाट १६ जनाको मृत्यु भएको छ । जसमध्ये एक जना कर्मचारीको निकुञ्जभित्र मृत्यु भएको हो । दुई जनाको दाउन्नेको जङ्गलमा र १३ जनाको मध्यवर्ती वन क्षेत्रमा बाघले खाएर मृत्यु भएको हो । उनका अनुसार साउनयता चार वटा बाघलाई नियन्त्रणमा लिइएर खोरमा राखिएको थियो । तीमध्ये एउटा छोडेपछि मरेको छ भने अर्को एउटालाई छोडेर अनुगमन गरिँदै आएको छ । बाघको आक्रमणबाट धेरै मानिसको मृत्यु भएको यो हालसम्मको उच्चदर हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अघिल्लो आर्थिक वर्षमा बाघको आक्रमणबाट पाँच जनाको मृत्यु भएको थियो । बाघको सङ्ख्या बढेका कारण बाघ धेरै देखिएको र घटना भएको अनुमान गरिएको छ । सन् २०१८ मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३ वटा बाघ रहेका थिए । त्यतिबेला देशभरको सङ्ख्या २३५ रहेको थियो । यस वर्ष बाघ गणना भइसकेको छ । विश्व बाघ दिवसको अवसरमा तथ्याङ्क सार्वजनिक गरिँदै छ ।–रासस