कक्षा १२ को परीक्षा सुरु, विद्यार्थी उत्साही

बुधबार, मंसिर १०, २०७७

काठमाडौं । कोरोना महामारीबीच मंगलबार देशभर कक्षा १२ को परीक्षा सुरु भएको छ । तोकिएको मितिभन्दा ७ महिना ढिलो भए पनि परीक्षा दिन पाउँदा विद्यार्थी खुसी र उत्साहित देखिएका छन् । वैशाखमा हुने परीक्षा कोरोना महामारी र लकडाउनका कारण अन्तिम समयमा आएर स्थगित गरिएको थियो । परीक्षा सम्पन्न भएर नतिजा प्रकाशन भएपछि उनीहरूको उच्चशिक्षा अध्ययनको ढोका खुल्नेछ । 
स्वास्थ्य सुरक्षा र सावधानीसाथ पहिलो दिनको परीक्षा देशभर उत्साहजनक रूपमा सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । विद्यार्थीहरू मास्क लगाएर परीक्षा केन्द्रमा पुगेका थिए । अधिकांश परीक्षा केन्द्रहरूमा हेल्थ डेस्क राखिएको छ । जहाँ स्वास्थ्यकर्मीहरूको समेत व्यवस्था गरिएको थियो । काठमाडौंलगायत अन्य जिल्लाका कतिपय परीक्षा केन्द्रमा विद्यालयले नै परीक्षार्थीलाई फेस सिल्ड उपलब्ध गराएका थिए । साबुनपानीले हात धुने, ज्वरो नाप्ने, सेनिटाइजरको समेत व्यवस्था थियो । परीक्षा दिन केन्द्रमा उपस्थित विद्यार्थी हर्षित देखिएका थिए । कोरोना महामारीबीच नयाँ तरिकाले परीक्षा गर्दै थियौं । कस्तो हुन्छ भन्ने अन्योल थियो । खासै अप्ठ्यारो भएन’ एक अधिकारीले भने । कक्षा १२ को परीक्षा सम्पन्न भएपछि नियमित कक्षा सञ्चालन गर्न सकिन्छ कि भन्ने सन्देश पनि गएको छ । 
काठमाडौंकी परीक्षार्थी सदीक्षा खनालले ढिलै भए पनि परीक्षा दिन पाएकामा खुसी व्यक्त गरिन् । ‘कोरोनाको डर त छँदै थियो, परीक्षा कहिले हुन्छ भन्ने चिन्ता पनि थियो,’ उनले भनिन्, ‘परीक्षा दिएपछि त ढुक्क हुन्छ नि ।’
पहिलो दिन देशभरका ४ हजार १ सय ५ परीक्षा केन्द्रमा ४ लाख ३२ हजार ५ सय परीक्षार्थीले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन् । अनलाइनबाट प्रश्नपत्र पठाउने भनिए पनि इन्टरेनटमा समस्या हुँदा केही परीक्षा केन्द्रहरूमा समयमै प्रश्नपत्र पुग्न सकेन, जसका कारण ढिलो गरी मात्रै परीक्षा सुरु भएको तर व्यवस्थित रूपमै सकिएको बोर्डले दाबी गरेको छ ।
बोर्डको वाग्मती प्रदेश प्रमुख जयन्ती सत्यालले समयमै प्रश्नपत्र नपुग्ने समस्याबाहेक परीक्षामा कुनै अप्ठ्यारो नआएको बताइन् । ‘पहिलो दिन भएकाले पनि होला प्रश्नपत्र पुग्न केही मिनेट ढिला भयो, इन्टरनेटको समस्या देखियो,’ उनले भनिन्, ‘एउटा विद्यालयले अर्को विद्यालयलाई प्रश्नपत्र उपलब्ध गराएर सहयोग गरे ।’ उनका अनुसार ढिलो गरी सुरु भएका केन्द्रमा परीक्षार्थीलाई समय थप गरिएको थियो । कोरोना संक्रमण भएका कारण केही परीक्षार्थी परीक्षामा सहभागी हुन नसकेको रिपोर्टिङ केन्द्रहरूबाट प्राप्त भएको उनले बताइन् । कोरोना पोजिटिभ देखिएर सहभागी हुन नसकेका विद्यार्थीलाई नतिजा एकैसाथ प्रकाशित हुने गरी संक्रमणमुक्त भएपछि परीक्षामा सहभागी गराइने बोर्डले जनाएको छ । परीक्षाको अनुगमनका लागि बोर्डले कन्ट्रोल रुम स्थापना गरेको छ ।
जिल्ला परीक्षा समन्वय समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ । उक्त समिति प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने व्यवस्था छ । परीक्षा सञ्चालनमा स्थानीय तहले सहयोग गरेका छन् । बोर्डका पदाधिकारी र कर्मचारीले पनि निरीक्षण गर्ने व्यवस्था मिलाइएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायत बोर्डका पदाधिकारीले परीक्षा केन्द्रको निरीक्षणसमेत गरेका छन् । मन्त्री पोखरेलले विद्यार्थीलाई शुभकामना दिँदै उनीहरूले पाउने प्रमाणपत्रमा कहींकतैबाट प्रश्न नउठोस् भन्नेमा सरकार सचेत रहेको बताएका थिए । उनले परीक्षामा सहभागी विद्यार्थी, निरीक्षक, कर्मचारी, सुरक्षाकर्मीलाई अनिवार्य मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न पनि अपिल गरेका छन् । परीक्षा मंसिर १६ गते सकिनेछ ।
बोर्डले कुल पूर्णांकमध्ये ४० प्रतिशत अंकको मात्रै संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । ४० प्रतिशत कक्षा ११ को परीक्षाफल र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा अंक दिइने बोर्डले जनाएको छ । विद्यालयहरूले विद्यार्थीको आन्तरिक मूल्यांकनसहित प्रयोगात्मक परीक्षाको अंक बोर्डमा पठाइसकेका छन् । संक्षिप्त परीक्षाको उत्तरपुस्तिका परीक्षणपछि नतिजा प्रकाशन गरिने छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार