कर्मचारीलाई कोरोना भएपछि मिस्ट्रीखोलाको परीक्षण उत्पादन प्रभावित

बिहीबार, चैत १९, २०७७

म्याग्दी । कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजनाको परीक्षण उत्पादन समयतालिका प्रभावित भएको छ ।  माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रवद्र्धक रहेको मिस्ट्रीखोला आयोजनाले चैत १७ गते मङ्गलबारदेखि परीक्षण उत्पादन शुरु गर्ने तयारीसहित समय तालिका बनाएको थियो । गत साता आयोजनामा काम गर्न भारतबाट आएका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको नजिकको सम्पर्कमा रहेका ७६ को स्वाबको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएको थियो ।  पोखरास्थित प्रयोगशालामा गरिएको स्वाब नमूनाको परीक्षणका क्रममा मिस्ट्रीखोलामा कार्यरत ११ र एकजना स्थानीयवासीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक समुन्द्र बरुवालले बताए । स्वास्थ्य अवस्था सामान्य रहेका सङ्क्रमितलाई नारच्याङमा रहेको कोरोना अस्पतालमा राखिएको छ ।   निर्माण भएका संरचना तथा जडान गरिएका उपकरणको परीक्षण सके पनि कर्मचारी र प्राविधिकलाई कोरोना पुष्टि भएपछि पूर्व निर्धारित समयतालिका अनुसार परीक्षण उत्पादन गर्न समस्या भएको आयोजनाका स्थानीय प्रतिनिधि चूडामणि निरौलाले बताए । ‘सङ्क्रमित कर्मचारीलाई छुट्टै आइसोलेसनमा राखेर विद्युत्गृहको काम गरिरहेका छौँ’, उनले भने, ‘स्थानीय सरोकारवाला र आयोजना व्यवस्थापन पक्षसँग समन्वय गरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै आयोजना सञ्चालनका लागि पहल गरेका छौँ ।’ सुरुङ, पेनस्टक पाइपलाइन र विद्युत्गृहको परीक्षण सरेको आयोजनाले २०७८ वैशाख १ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन गर्ने समय तालिका बनाएको थियो । विद्युत्गृहमा जडान भएको जेनेरेटर, टर्वाइन र ट्रान्सफर्मरको पनि परीक्षण सकिएको छ । बेँसीगाउँदेखि दानास्थित २२० केभी क्षमताको सवस्टेशन जोड्ने १३२ केभी क्षमताको चार किलोमिटर प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ ।  सन् २०१६ को जुन १३ मा शुरु भएको आयोजनाले नीलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध बनाएको छ । दुई हजार २७०.५ मिटर सुरुङबाट ल्याएको पानी २५० मिटर उचाइबाट खसालेर विद्युत् उत्पादन गर्न एक हजार ५०० मिटर पेनस्टक पाइप जडान गरेको छ । बेँसीगाउँस्थित कालीगण्डकी नदीको बायाँ किनारमा बनाइएको विद्युत्गृह नजिकै स्विचार्ड निर्माण गरेको छ । बाँध क्षेत्रमा ११५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई वटा भूमिगत बालुवा थिग्राउने पोखरी (क्यानल) बनाएको छ ।  पाँच अर्ब ६४ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा प्रवद्र्धकबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकले ७० करोड, जलविद्युत् विकास कम्पनीले एक अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । 
यसैगरी नबिल बैंकले एक अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र एस डेभलभमेन्ट बैंकको ३० करोड रुपैयाँ ऋण लगानी छ । आयोजना निर्माणस्थल नारच्याङका बासिन्दालाई सात लाख तीन हजार ५१२ र प्रभावित क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिकाका अन्य सात वटा वडाका बासिन्दालाई १० लाख कित्ता सेयर बाँडफाँट गरिएको छ ।  साधारण शेयर पनि बाँडफाँट भइसकेको छ । विद्युत् विकास विभागले २०६४ सालमा जनेरेसन लाइसेन्स (निर्माण अनुमति) दिएको थियो । नेपाल विद्युत् प्राधिकरणले २२० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि निर्माण शुरु भएको थियो । मिस्ट्रीखोला म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये सबैभन्दा ठूलो आयोजना हो । नारच्याङमा दुई मेगावाट क्षमत्ताको तातोपानी साना जलविद्युत् आयोजना सञ्चालनमा छ । पाँच मेगावाटको घलेम्दीखोलाले २०७६ माघ महिनादेखि उत्पादन शुरु गरेको छ । अन्नपूर्ण–३ दानादेखि पर्वतको खुर्कोट जोड्ने ३९ किलोमिटर दूरीको २२० केभी क्षमताको विद्युत् प्रसारण लाइन गत माघमा निर्माण सकिएको थियो ।–रासस
 

प्रकाशित मिति: बिहीबार, चैत १९, २०७७  १२:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार