सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०को अवरोधबीच राष्ट्रियसभाको आजको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरे । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विनियोजन विधेयक, २०७९ का विनियोजन शीर्षकमाथि यही असार ६, ७ र ८ गते छलफल हुने तथा असार ९ र १० गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका प्रस्ताव गरे । सम्बन्धित शीर्षकमाथिको छलफलमा भाग लिन चाहने सांसदले छलफल हुनुभन्दा एक दिन अगावै राष्ट्रियसभाको कार्यव्यवस्थामा दलीय आधारमा नाम उपलब्ध गराउनुपर्नेछ । असार ६ गते कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकूद, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वन तथा वातावरण, सहरी विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । असार ७ गते शिक्षा, विज्ञान तथा प्रविधि, उद्योग, वाणिज्य तथा आपूर्ति, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन, भौतिक पूर्वाधार तथा यातायात, परराष्ट्र, खानेपानी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । यस्तै असार ८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, अर्थ, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सञ्चार तथा सूचना प्रविधि, गृह र रक्षा मन्त्रालय, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
‘संसदीय छानबिन समिति नबने बैठक बहिस्कार’
एमाले राष्ट्रियसभाका मुख्य सचेतक खिमलाल भट्टराईले आगामी आवको बजेट निर्माणका क्रममा भएका गतिविधिले सन्देह प्रकट गरेको बताए । “बजेट निर्माण गर्ने स्थान अत्यन्त्यै संवेदनशील ठाउँ हुनुपर्छ, त्यहाँ अर्थमन्त्री, सचिव तथा अर्थ मन्त्रालयका उच्च अधिकारीको मात्र प्रवेश हुन्छ”, उनले भने, “राजस्वको दर थपघट गर्ने विषय अति संवेदनशील हुन्छ, अत्यन्त गोपनियताका साथ गरिने अन्तर्राष्ट्रिय अभ्याससमेत छन्, तर नेपालमा त्यसो हुन सकेन ।” उनले बजेट निर्माणको संवेदनशीलता देखाउँदै सांसदलाई अर्थ मन्त्रालय प्रवेशमा रोक लगाएको र विज्ञका नाममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको विषयमा संसदीय छानविन समिति बनाउन माग गरे । संसदीय छानबिन समिति नबनेसम्म अर्थमन्त्रीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७९ पेश गर्न नसक्ने र समिति नबनाइ प्रक्रिया अगाडि बढाइए आफूहरुले बहिस्कार गर्ने उनले बताए । राष्ट्रियसभाको अर्को बैठक यही असार ५ गते अपराह्न १ बजे बस्नेछ ।
प्रतिनिधिसभामा तीन विधेयक पेश
प्रतिनिधिसभामा विभिन्न तीन विधेयक पेश भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ र ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ पेश गरे । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिमा गृहमन्त्री खाणले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गरे । बैठकमा प्रतिनिधिसभाको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ र ‘बिमा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७९’ पेश गर्नुभयो ।
पहिरोपीडितलाई उद्धार गरी राहत दिन माग
प्रतिनिधिसभाको बैठकमा सांसद योगेश भट्टराईले बिहीबार परेको अविरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमा गएको पहिरामा परी घाइते भएकालाई उद्धार गरी राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय माग गर्दै उनले पहिराले घर बगाउँदा तुलसा अधिकारी र यशोदा अधिकारीको निधन भएको र विष्णु अधिकारीको आज बिहान हेलिकप्टरबाट उद्धार गरी कोसी अस्पतालमा उपचार भइरहेको जानकारी गराए। उनले घाइतेको सम्पूर्ण उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरे । सांसद भट्टराईले ताप्लेजुङमा बाढी पहिराको प्रकोपले जनजीवन त्रसित बनाएको हुँदा पीडितको राहत र उद्धारका साथै काजकिरियाका लागि आवश्यक सहयोग र उपचारका लागि व्यवस्था गर्नसमेत सरकारसँग माग गरे । पहिराका कारण विद्युत्, टेलिफोन र यातायात अवरुद्ध भएको र सञ्चालन गर्न सरकारसँग आग्रह गरे । सांसद एकवाल मियाले बारा जिल्लामा नेकपा ९माओवादी०का चित्रबहादुर क्षेत्रीको हत्याको कारण पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरे । उनले घटना हेर्दा व्यक्तिगत रिसिइवीका कारण भएको जस्तो देखिएको हुनाले सत्य पत्ता लगाई ३८ वर्षीय क्षेत्रीको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न माग गरे । निजको हत्या घरभन्दा ५०÷१०० मिटरमा मात्र भए पनि हत्या गरेर परिवारलाई जानकारी नगराई अस्पतालमा लगेर मृत घोषणा गरिएकोप्रति थप शङ्का उत्पन्न भएको र हत्यामा संलग्नको आशङ्कामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी गराए । सांसद प्रेम सुवालले भक्तपुरका भूकम्पपीडितलाई पहिलो किस्ताको रकम दिएर दोस्रो र तेस्रो किस्ता नदिएकोप्रति अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै तत्काल उपलब्ध गराउन माग गरे । उनले हनुमन्ते खोलाको दायाँबायाँका डुबान पीडितलाई क्षतिपूर्ति दिन माग गरे । सांसद कृष्णभक्त पोखरेलले महिलाविरुद्ध हुने हिंसाका विषयमा संविधान र कानुनमा व्यवस्था गरे पनि यौनहिंसाका घटना बढ्दै गएकोप्रति सरकारकोे ध्यानाकर्षण गराए ।–रासस