सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । झन्डै एक सातादेखि काठमाडौंसहित देशका धेरै ठाउँमा तुँवालो र उच्च तहमा वायु प्रदूषण देखिँदा जनस्वास्थ्यमा धेरै समस्या देखा परेको विज्ञहरूले बताएका छन् । प्रदूषणका कारण दीर्घरोगीमा झन् जटिल समस्या हुन थालेको, गर्भवतीमा बच्चा जन्मँदा समस्या देखिन सक्ने र स्वस्थ मानिसमा समेत कालान्तरमा फोक्सो, मुटु, छालादेखि स्नायुप्रणालीसम्म प्रभावित हुन सक्नेगरी लक्षणहरू देखिन थालेको चिकित्सकहरू बताउँछन् । विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने आकलन गर्दै सरकारले शुक्रवारसम्म देशभरि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । वातावरण अधिकारी एवं मौसमविद्हरूले तत्काल वर्षा वा ठूलो वेगको हावाको सम्भावना नदेखिएकाले अहिलेको तुँवालो थप केही दिन रहिरहन सक्ने बताएका छन् ।
स्वास्थ्यमा कस्ता समस्या ? काठमाडौंको एउटा निजी अस्पतालमा श्वासप्रश्वास एवं क्रिटिकल केयर विशेषज्ञका रूपमा कार्यरत एकजना चिकित्सक डा.रक्षा पाण्डेले तत्कालै देखिने गरी दमका बिरामीमा प्रदूषणका कारण समस्या देखिएको बताइन् । ‘दम नियन्त्रणमा रहेका बिरामीमा ज्वरोबिनै छोटो अन्तरालमा घ्यारघ्यार हुने र खोकी लाग्ने जटिलता थपिएको छ’ उनी भन्छिन् । ‘अस्पताल नआउनेमा समेत धेरैमा आँखा पिरो हुने, घाँटी खसखस हुने, छाला चिलाउने, नाक चिलाउने, रुघा लागे जस्तो हुने लक्षण देखिएका गुनासो आउन थालेका छन्’ उनले भनिन् । श्वासप्रश्वास सम्बन्धी विज्ञहरूले वायु प्रदूषणको असर नजानिँदो ढङ्गले मानिसहरूको स्वास्थ्यमा अहिलेभन्दा अघिदेखि नै पर्दै आएको बताउँछन् । डा. पाण्डे थप्छिन्, ‘यतिखेर प्रदूषणको तह उच्च भएकाले एकदुई दिनमै मानिसहरूले समस्या महसुस गर्न थालेका हुन् । नत्र प्रदूषणले पु¥याउने असर त हाम्रो समग्र आयु नै कम गर्नमा देखिएको अध्ययनहरूले नै देखाएका छन् ।’
शिशुमा ‘जन्मजात समस्या’ देखिने जोखिम लामो समय विषाक्त वायु भएको स्थानमा बस्दा गर्भवती महिलाले जन्माउने शिशुमा विभिन्न प्रभाव पर्न सक्ने चिकित्सकहरू बताउँछन् । काठमाडौंकै एक सरकारी अस्पतालमा कार्यरत श्वासप्रश्वास रोग विशेषज्ञ डा. अशेष ढुङ्गाना भन्छन्, ‘शिशुको जन्मतौल नै कम हुनेदेखि जन्मजात मुटुसम्बन्धी समस्या र बिस्तारै अन्य रोगहरू देखिने गरेको छ ।’ वायुमा हुने सूक्ष्म कण रक्तनलीसम्म पुग्ने भएकाले त्यसले मुटुसम्बन्धी समस्याहरू निम्तिन सक्छ । डा. ढङ्गाना भन्छन्, ‘फोक्सो हावा हाम्रो शरीरमा छिर्ने पहिलो माध्यम भएकाले त्यसमा तत्काल उच्च असर देखिने मात्र हो । नत्र त्यसले सबैतिर असर पु¥याइरहेको हुन्छ ।’
त्यस्ता समस्यामा मस्तिष्काघातको जोखिम बढ्ने, मूत्राशयदेखि पाचन प्रणालीसम्म असर पु¥याउने, दीर्घकालमा विभिन्न किसिमका क्यान्सरको जोखिम उच्च हुने बताइन्छ ।