सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । महोत्तरी जिल्लाको भँगहा नगरपालिकाको वडा नम्बर ८ बाट मंगलबारदेखि हराइरहेका दुई बालिका र पाँच किशोरी भारतको बिहार राज्यको सीतामढी जिल्लामा फेला परेका छन् । उनीहरूलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार भारतीय प्रहरी अधिकारीहरूले नेपाल प्रहरीको टोलीलाई सबै बालिकालाई हस्तान्तरण गर्ने प्रक्रिया थालेका छन् । ‘नेपाली प्रहरी अधिकृतहरूको टोली बालिकाहरू लिएर साँझसम्म नेपाल फर्किनेछ’ डीआईजी सिंहले भने । स्थानीय बासिन्दाको सहयोगमा उनीहरूलाई सीतामढीको रेल स्टेशनमा फेला पारिएको थियो । उनीहरू नेपाल आएपछि उनीहरू कसरी भारत पुगे भने तथ्य खुल्ने सिंहले बताए । कसरी हराएका थिए ? भँगहा नगरपालिकाको वडा नम्बर ८ धरमपुरमा घाँस काट्न गएका उनीहरू मंगलबार दिउँसोदेखि सम्पर्कविहीन थिए । घरनजिकै रहेको चौरमा घाँस काट्न गएका बालिकाहरू अबेरसम्म घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । उनीहरू हराएको खबर प्रहरीले पाएपछि भारतीय प्रहरीको समन्वयमा खोजी थालिएको थियो । हराइरहेका सबै जना बिहार राज्यको सीतामढी जिल्ला रेलवे स्टेशननजिक अलपत्र अवस्थामा फेला परेको बताइएको छ । स्थानीय बासिन्दाले प्रहरीलाई जानकारी दिएपछि उनीहरूको उद्धार गरिएको थियो । ‘नेपाली किशोरी र बालिकाहरूले भारतको मुम्बईमा गायिका बन्न जान लागेको बताएका छन’ एक भारतीय प्रहरी अधिकारीले भने । ‘उनीहरू सबै जना भिठ्ठामोड नाकाबाट बस चढेर सीतामढी पुगेका रहेछन’ रेल्वे प्रहरी सीतामढीका एसपी अशोक कुमार सिंहले बताए ।
अहिले कस्तो अवस्थामा छन् ? रेल चढेर उनीहरू मुम्बई जाने प्रयासमा रहेको तर विस्तृत जानकारी नभएको कारण अलपत्र परेको एसपी सिंहले बताए । उनका अनुसार बालिकाहरूलाई स्थानीयवासीले सीतामढी रेल्वे प्रहरी कार्यालयमा ल्याएका थिए। उनीहरू सबै जनालाई प्रहरीले खाना खुवाएर राखेको सिंहले बताए । उनीहरूको उमेर १० वर्षदेखि १८ वर्षसम्मको छ । सबै जना पासवान समुदायका भएको प्रहरीले जनाएको छ । उनीहरू सबै एउटै टोलका र दाजुभाइका छोरीहरू रहेको बताइएको छ । कोभिड महामारीका कारण गरिएको कडाका कराण नेपाल र भारतबीचको सीमा अझै नियमित भइसकेको छैन । दुई देशबीचको सीमामा सवारीसाधन सञ्चालनमा नभएकाले मानिसहरू पैदल आवतजावत गर्छन् । सीतामढी रेल्वे प्रहरी थानामा नेपाली प्रहरी र सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) भारतका अधिकारीहरू समेत पुगेको बताउँदै सिंहले भने, ‘नेपाललाई सुपुर्दगी गर्ने प्रक्रिया प्रारम्भ भएको छ ।’ घरबाट घाँस काट्न हिँडेका बालिकाहरू सीतामढीसम्म पुग्दा कसैले अपहरण अथवा प्रलोभनमा पारेर नल्याएको बताएका छन् । उनीहरू स्वयंले नै ‘गायिका’ बन्न मुम्बई जान लागेको बताएका छन् । महोत्तरीका एसपी दिनेश आचार्यले जनाएअनुसार अहिले सीतामढीमा दुवै तर्फका प्रहरी अधिकारीहरूले बालिका बुझ्ने प्रक्रिया भइरहेको छ ।–बीबीसी