सत्यमोहन जोशीको नाममा स्कुल स्थापना गर्ने सरकारको घोषण

राष्ट्रपतिको निर्देशनमा शिक्षामन्त्री शताब्दी पुरुष जोशी निवासमा 
बुधबार, चैत १८, २०७७

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ मंगलबार वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीकोे निवासमा पुगेका छन् । शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन दिएअनुसार भेटघाट गर्न आएको बताए । 
उनले भने, ‘जीवित इतिहास तपाईका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ । मुलुकको जुनसुकै स्थानमा तपाई जहाँ विद्यालय खोलियोस् भन्ने चाहानु हुन्छ, हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छाँै । घनावस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्नेछ ।’  जोशीको नामका खोलिने सो विद्यालय दरबार हाइस्कुल जस्तो हुने श्रेष्ठले जानकारी दिए । 
तर कहाँ खोल्ने त्यस विषयमा उनीबाटै अनुमती लिन चाहेको श्रेष्ठले बताए । उनको अनुमती बमोजिम सरकारले नेपालको कुनै पनि ठाउँमा स्कुल स्थापना गर्न  सक्ने मन्त्री श्रेष्ठको भनाइ छ ।  श्रेष्ठले भने  ‘जोशीकै हातबाट शिलान्यास गर्न पाए अझै राम्रो हुने थियो ।’


शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताएका छन् । जोशीको रेखदेख गर्न दुई कुरुवा सरकारले दिने घोषणा गरिसकेको उनको भनाइ थियो । जोशीले राष्ट्रपतिले आफूलाई सम्झेर भेट्न पठाएकोमा हर्षित भएको प्रतिक्रिया दिए । उनले भने, ‘मुलुकमा उत्पादन भएका जति पनि लेखक, कलाकारहरू छन् र थिए, तीमध्ये लामो आयू बाँँच्ने म नै हुँ । राष्ट्रपतिले आफू जीवित छँदै आफ्नो नामको हुलाक टिकटमा टाँचा लगाउँदा ज्यादै खुशी लाग्यो । मुलुकको पिछडिएको स्थान जहाँ बालबालिका अध्ययन गर्ने अवसरबाट वञ्चित भएका छन् त्यहाँ विद्यालय खोलियोस् भन्ने म चाहान्छु ।’ ललितपुर महानगरपालिकाले केही समयअघि आफ्नो नाममा चाँदीको सिक्का निकालेर प्रयोगमा ल्याउँदा पनि ज्यादै खुशी लागेको जोशीले बताए । उनको नाममा स्थापना हुने विद्यालयमा बाहिर गेटमा पूर्णकदको प्रतिमा राखिने, बगैंचा राखिनेछ । सम्भवत अर्को आर्थिक वर्षदेखि बनाइने र नमुना स्कुलको रुपमा तय गरिनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ अर्ब रुपैयाँ सम्पूर्ण स्थानीय तहमा शैक्षिक कार्यक्रमका लागि दिइनेछ । यस विद्यालय स्थापना कार्यक्रम पनि यसैमा पर्ने ठूलो तथा आकर्षक कार्यक्रम भएको मन्त्री श्रेष्ठले बताए। ब्यवस्थित डीपीआर गरेर आगाडी बढ्ने र सुन्दर, ब्यवस्थित, ठूलो ठाउँ भएको जग्गाको खोजीमा रहेको बताए । ललितपुर महानगरपालिकाले स्कुल स्थापनाका लागि आफ्नो तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहने प्रतिवद्धता मेयर चिरिबाबु महर्जनले व्यक्त गरेका छन् । 
ललितपुरमा जन्मिएको तथा यहाँको बासिन्दा भएकाले उक्त विद्यालय ललितपुरमै स्थापना गर्न पाए हुन्थ्यो जस्तो लागेको महानगर प्रमुख महर्जनले बताए । जोशीको नाममा स्थापना हुने विद्यालयमा बाहिर गेटमा पूर्णकदको प्रतिमा राखिने, बगैंचा राख्ने सरकारको योजना छ । अर्काे आर्थिक वर्षदेखि निर्माण सुरु गरिने स्कुल नमुना स्कुलको रुपमा विकास गरिने छ ।  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ६ अर्ब रुपैयाँ स्थानीय तहमा शैक्षिक कार्यक्रमका लागि दिइनेछ । विद्यालय स्थापना कार्यक्रम पनि यसैमा पर्ने छ ।  डीपीआर तयार पारेर आगाडी बढ्ने र सुन्दर, ब्यवस्थित, ठूलो ठाउँ भएको जग्गाको खोजीमा सरकार छ ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्र्जनले मुलुकको महान व्यक्तित्व जोशीको नाममा आफूहरूले ललितपुरको पुल्चोक हुँदै मङ्गलबजार अनि सुन्धारा र त्यसपछि ग्वार्काे जाने सडकलाई सत्यमोहन जोशी मार्ग नामकरण गरिसकेको बताए ।  शताब्दी पुरुष जोशी आउँदो वैशाख ३० गतेदेखि १०१ वर्ष पूरा भएर १०२ वर्षमा प्रवेश गर्दैछन् ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार