सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल तुवाँलोलो ढाक्ने जनाएको छ । मौसमी अवस्थामा तत्काल सुधार हुने देखिदैन विभागले भनेको छ । ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य हो विभागले भनेको छ, ‘चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको छ ।’ हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरू छरिन नपाई वायुमण्डलको तल्लो तहमै तैरिएका कारण असामान्य प्रकारको तुवाँलो लागेको हो । देशका अधिकांश जिल्लाका धेरै स्थानमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरू वायुमण्डलमा सञ्चित हुन गई असामान्य प्रकारको तुवाँलोको अवस्था आएको विभागका प्रवक्ता सुमनकुमार रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खासगरी पहिलेदेखि नै प्रदूषणको स्तर सामान्यभन्दा अधिक रहेका सङ्घीय राजधानी काठमाडौँलगायतका शहरी क्षेत्रमा तुवाँलोको मात्रा अत्यधिक रहेको र फलस्वरुप वायुमण्डलको पारदर्शितामा उल्लेखनीय रूपले न्यून हुन गई जनजीवन असामान्य हुन गएको छ । तुवाँलोका कारण आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या जस्ता स्वास्थ्यमा पर्ने नकारात्मक असरबाट बच्न आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ । आगामी दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुवाँलो अवस्था के कस्तो हुने हो भन्नेबारे डढेलोको अवस्थामा निर्भर रहने विभागको भनाइ छ । यस वर्ष नेपालमा पोष्ट–मनसुन सिजनमा अधिकांश स्थानमा सरदर भन्दा धेरै कम वर्षा भएको र गएको हिउँदमा पनि अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा भएको तथ्याङ्क छ । मनसुनपूर्वको आजसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा जलवायु प्रारूपहरूले मार्च, अप्रिल र मे महिनामा नेपालमा औसत तापक्रम सरदरभन्दा बढी हुनसक्ने सम्भावना ६० देखि ८० प्रतिशत रहेको तथा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४० देखि ६० प्रतिशत रहेको विज्ञप्तिमा उल्लेख छ । विभागले यस अवधिमा खानेपानीको अभाव, आगलागी तथा डढेलो जस्ता समस्याहरू हुन सक्ने विषयमा ध्यानाकर्षण गराइसकेको जनाएको छ ।–रासस