ज्येष्ठ नागरिकमैत्री छैन जुम्ला मालपोत

शनिबार, जेठ २१, २०७९

कर्णाली । जिल्ला मालपोत तथा नापी कार्यालय जुम्ला ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री नहुँदा उहाँहरूलाई सेवा लिन समस्या भएको छ । जुम्ला सदरमुकाम खलङ्गा बजार समुद्री सतहदेखि दुई हजार ५१४ मिटर उचाइमा छ । मालपोत कार्यालय त्यसभन्दा करिब २०० मिटर उचाइमा पर्दछ । त्यहाँ सेवा लिन जाने सबै सेवाग्रहीले उकालो बाटो चढ्नुपर्दछ । जग्गा कारोवार हुने भएकाले सेवाग्रहीमा ज्येष्ठ नागरिकहरूले अनिवार्य मालपोत कार्यालय पुग्नैपर्छ तर दम तथा श्वासप्रश्वासका रोगी नागरिकले त्यहाँ पुग्न निकै सास्ती भोग्नुपर्दछ ।
मालपोत पुग्न असहज भएपछि ज्येष्ठ नागरिक, दमका रोगी तथा अपाङ्गता भएका व्यक्तिले सेवालाई सहज र सुगम बनाउन अनुरोध गरेका छन् । जिल्ला ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष तीर्थराज भारतीले मालपोत कार्यालय जुम्ला आफ्ना लागि निकै कष्टकर भएको बताए । “हामीले जिल्ला प्रशासन कार्यालय, राजनीतिक र नागरिक समाजलगायत सरोकारवाला निकाय मालपोत कार्यालय सहज बनाउन धेरै पटक पहल ग¥यौँ तर आजसम्म हाम्रो पीडा कसैले सुनुवाई गरेन”, अध्यक्ष भारतीले भने, “तत्कालीन जिल्ला विकास समिति र महिला विकास कार्यालयमा मालपोत र नापी सारिदिएको भए हामीलाई सहज हुने थियो ।” आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिमैत्री नभएको उनले दुखेसो प्रकट गरे ।
अपाङ्ग पुनःस्थापन तथा विकास केन्द्र जुम्ला अध्यक्ष नन्दराज धितालले मालपोत तथा नापी दुवै कार्यालय ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिमैत्री नहुँदा ठूलो दुःख भोग्नुपरेको प्रतिक्रिया दिए । “सबै सरकारी कार्यालय सदरमुकाम खलङ्गा बजारमा छन् । तर उक्त कार्यालय अवैज्ञानिक स्थानमा राखिएको छ । त्यसलाई तल सार्न जरुरी छ”, अध्यक्ष धितालले भने ।
यता जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख नरेन्द्र रोकायले कार्यालयको भौतिक संरचना र सेवा प्रवाह राम्रै भए पनि ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई त्यहाँ पुग्न निकै असहज भएको बताउनुभयो । उहाँका अनुसार अब मालपोत विभागको परिपत्रअनुसार तत्कालीन सिंजा क्षेत्रका ११ गाविसलाई सेवा पुग्ने मालपोतको शाखा सिंजा गाउँपालिका राख्ने पहल सांसद गजेन्द्र महतले गरेका छन् ।
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता राखेर सेवा दिएको बताउँदै निमित्त कार्यालय प्रमुख रोकायले जनप्रतिनिधिद्वारा पहल भए कार्यालय उपयुक्त ठाउँमा सार्न सकिने निमित्त कार्यालय प्रमुख रोकायको भनाइ छ । चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको समस्यालाई मध्यनजर गरी मालपोत कार्यालय तल सार्न पहल गरिरहेको बताए

 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार