ग्राउन्डेड हेलिकप्टर हस्तान्तरण

शनिबार, जेठ २१, २०७९

काठमाडौँ । नेपाली सेनाले उडान समयावधि पूरा गरी ग्राउन्डेड रहेको एक हेलिकप्टर रेल्वे तथा एरोनटिक्स इन्जिनियरिङको स्नातक तहको प्रयोगात्मक अभ्यासका लागि हस्तानतरण गरेको छ ।
मन्त्रिपरिषद्को गत वैशाख २५ गतेको निर्णयअनुसार प्रदेश–१ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयले यस आर्थिक वर्ष २०७८-७९ बाट सञ्चालन गरेको उक्त तहका विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि एनए–०३९ चेतक हेलिकप्टर र त्यससँग सम्बन्धित ४७ वटा पार्टपूर्जा हस्तान्तरण गरेको हो ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सेनाको एयर वेशमा एक समारोहका बीच सैनिक वायु सेवाका महानिर्देशक पाइलट आशिष नरसिंह राणाले प्रदेश–१ का सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीलाई हेलिकप्टर हस्तान्तरण गर्नु भएको नेपाली सेनाले जनाएको छ ।
भारतको बैङ्लोरस्थित हिन्दुस्तान एरोनेटिक्स लिमिटेडद्वारा निर्मित उक्त हेलिकप्टर भारतबाट विसं २०५८ मङ्सिर २६ गते सहयोग स्वरुप नेपाली सेनालाई उपलब्ध गराएको थियो ।
हाल निर्माता कम्पनीले तोकिदिएको उडान समयावधि पूरा गरी हेलिकप्टर ग्राउन्डेड रहेको थियो । मनमोहन प्राविधिक विश्वविद्यालयले उक्त हेलिकप्टर र यसमा प्रयोग हुने केही जगेडा सामग्री प्राप्त गरे पश्चात् अध्ययनरत विद्यार्थीको एरोनटिकल विधामा प्राविधिक ज्ञान अभिवृद्धि गर्नमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
भविष्यमा पनि नेपाली सेनाद्वारा हवाई साधन मरमत तथा उडान सम्बन्धी विषयमा प्राविधिक ज्ञान, सीप तथा यस्ता किसिमका अध्ययन सामग्री हस्तान्तरण गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले उल्लेख गरेको छ । हस्तान्तरण समारोहमा मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवास श्री पोखरेल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद ढुङ्गेललगायतको सहभागिता थियो ।

सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

नेपाली सेनाले गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जन संयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरद्वारा निर्मित विद्यालय भवन आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सेनाको रु २८ लाख ९१ हजार तथा बाँकी रकम नगरपालिका लगायतले बेहोरेपछि चार कोठे भवन निर्माण भएको हो । विसं २०५२ मा स्थापना भएको विद्यालय कमजोर भौतिक पूर्वाधारकै कारण मर्ज हुने अवस्थामा पुगेको थियो । विद्यालयको कमजोर भौतिक अवस्था र शिक्षकले पारिश्रमिक नलिएरै पढाइरहेको विषयमा दुई वर्षअघि विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि सेनाले भवन निर्माणमा चासो दिएको हो । सेनाको पश्चिम कमाण्ड सेनापति उपरथी पे्रम शाहीले विकास निर्माणमा सेनाको सहयोगले नागरिक र सेनाबीचको सम्बन्धलाई फराकिलो हुने बताए । उनले सेनाको सानो प्रयासले विद्यालयका कलिला बाल–बालिकाको मस्तिष्कमा नेपाली सेनाप्रति सकारात्मक सोच विकास हुने विश्वास व्यक्त गरे ।  
सुरुमा एकतले भवन निर्माण गरेको सेनालाई स्थानीयले दोस्रो तला थपिदिन आग्रह गरेका थिए । भवन निर्माणमा कालीबक्स गणका इञ्जिनीयर र कालीगढ खटिएका थिए । गणबाट खटिएका ३५ विभिन्न दर्जाका प्राविधिकहरूले ११५ दिनमा भवन निर्माण सम्पन्न गरेका हुन् । निर्माण पूरा भएपछि पश्चिम कमाण्ड सेनापति शाहीले गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुन र विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरे । प्रमुख पुनले देशको सुरक्षा गर्ने जिम्मा लिएको सेनाले गरेको सामाजिक कार्यले जनतामा सकारात्मक सन्देश प्रवाह भएको धारणा राखे ।

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ २१, २०७९  ०६:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार