सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । करोड बढी ठगी मुद्दाका फरार प्रतिवादी ललितपुर गोदावरी नगरपालिका–४ बस्ने ४८ वर्षीय जीवनकुमार केसीलाई आज प्रहरीले पक्राउ गरेको छ । उपभोक्ता हित संरक्षण नेपालको जाहेरीले रु एक करोड १९ लाख ८४ हजार ठगीसम्बन्धी कसूरमा संलग्न रही फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीलेले नयाँ बजारबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको कार्यालयले जनाएको छ । आगालागीबाट घाइते यसैबीच काठमाडौँको तारकेश्वर नगरपालिका–६ धर्मस्थलीमा विनोद तामाङको इथनिक क्राफ्टमा ग्यास चुहावट भई आगलागी भएको र रु दुई लाख बढीको धनमाल जलेर नष्ट भएको छ । उक्त आगलागीमा परी उक्त क्राफ्टमा काम गर्ने तनहुँ भानु नगरपालिका–५ का २७ वर्षीया अनु परियार घाइते भएको र हाल उनका ग्रिनसिटी मेगा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
बैंकिङ कसूरमा पक्राउ
बैंकिङ कसूर मुद्दामा रु १६ लाख ५० हजार जरिवाना तोकिएर फरार रहेका खोटाङ घर भई हाल भक्तपुरस्थित थिमीमा बस्ने ईन्द्रकुमार राइलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरस्थित ग्लोबल आइएमइ बैंकको शाखामा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेपछि उक्त कसूरमा मुद्दा परेको थियो । उच्च अदालत पाटनको वैशाख ५ को फैसलाले राईलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा चार दिन कैद र १६ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले आज काठमाडौँको चाबहिलबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको छ ।
गाँजासहित एक भारतीय पक्राउ
मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ बाट लागुऔषध गाँजासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले ५० किलो ४०० ग्राम गाँजासहित भारत बिहार सितामढी जिल्ला ग्राम पञ्चायत नोचा वडा नम्वर १० थाना बेला घर भई हाल महोत्तरीको औरही नगरपालिका वडा नम्वर ७ सोनामाई बस्ने ३७ वर्षीय राजेश चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । बिहीबार साँझ साढे ६ बजे प्रहरीले नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह १५०८ नम्वरको अटोलाई हेटौंडा–१ राप्तिरोडस्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डस्थित रोकी जाँच गर्दा लुकाईछिपाई ल्याएको सो परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रक्रिया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।