अवैध उत्खनन रोक्न खटिए जनप्रतिनिधि 

शुक्रबार, जेठ २०, २०७९

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गतका नदी तथा खोलामा भइरहेको नदीजन्य पदार्थको उत्खनन रोक्न जनप्रतिनिधि खटिएका छन् । गाउँपालिकाले बिहीबारदेखि स्थलगतरूपमा अनुगमन सुरु गरेको छ । 
गाउँपालिका अध्यक्ष तप्त पौडेलका अनुसार गाउँपालिकाका नौवटै वडाका वडाध्यक्षसहित १७ कार्यपालिका सदस्य, कर्मचारी, प्राविधिक, सुरक्षाकर्मीसहितको टोलीले स्थलगत अनुगमन गरेको हो । टोलीले राप्ती सोनारी गाउँपालिका–४, ५ र ६ का विभिन्न स्थानमा पुगी घाटगद्दी गरेर राखिएका नदीजन्य पदार्थको नापजाँच गरेको छ ।
गाउँपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर नदीजन्य पदार्थको नियमन सुरु गरिएको पौडेलले बताए । क्रसर उद्योग र घाटगद्दीको स्थलगत अनुगमन गरी नियम, कानुनअनुसारका आवश्यक कागजात माग गर्ने र त्यहाँ रहेका नदीजन्य सामग्रीको मात्रा जाँच गरी सो को खरिद वा सङ्कलनका स्रोतको यकिन गर्ने गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीका अनुसार अनुगमनका क्रममा अधिकांश क्रसर उद्योग नियमविपरीत चलेको पाइएको छ । कतिपय उद्योगलाई आफ्ना कागजातसहित सात दिनभित्र गाउँपालिकामा सम्पर्क गर्न र तोकिएको राजस्व बुझाउन निर्देशन दिइएको छ । 
राप्तीसोनारी गाउँपालिकाले खैरीखोला, मुगुवाखोला, टिकुलीपुरघाट, सिधनियाघाट, बग्दैलाघाट, लालपुरघाट, आलिनगर खल्लाटपरीघाट, जलालाघाट, परुवाखोला, झिझरीखोलालाई निषेधित क्षेत्र कायम गरिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ मा यहाँका नदी तथा खोलामा ठेक्का लगाउन नसक्दा अवैधरूपमा नदीजन्य पदार्थको उत्खनन गरी चोरी निकासी हुँदै आएको छ । राप्ती नदीको नदीजन्य पदार्थको अवैध उत्खनन रोकेर गाउँपालिकाले आगामी आव २०७९÷८० देखि नदी तथा खोलामा ठेक्का लगाउने तयारी गरेको डाँगीले बताए

कालीगण्डकी दोहन रोक्न प्रहरी सक्रिय 
कालीगण्डकी नदीको अवैध दोहन रोक्न प्रहरीले सक्रियता बढाएको छ । प्रहरीले बुधबार राति अवैधरूपमा कालीगण्डकी किनारबाट ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा ओसारपसार गरिरहेका दुई ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।
यसअघि बुधबार बागलुङ नगरपालिका–१ कालीगण्डकी किनारमा अवैधरूपमा ढुङ्गा र बालुवाको उत्खनन तथा ओसारपसार गरिरहेका तीन ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको थियो । सर्वोच्च अदालतले नदीजन्य पदार्थको उत्खनन नगर्न आदेश दिएपछि प्रहरीले कालीगण्डकीको दोहन रोक्न सक्रियता बढाएको हो ।  
पाँचवटै ट्र्याक्टर र सामग्री बागलुङ नगरपालिकालाई बुझाइएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए । बुधबार प्रहरीले कालीगण्डकी किनारबाट ध१त ४१७ र लु४त  ८३६३ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको हो । “अदालतले नदीजन्य पदार्थको उत्खनन रोकेको छ, सोहीअनुसार सहयोग गर्न प्रहरीलाई भनेका छौँ”, बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले भने ।  

प्रहरीले बुधबार ध१त ३५५, ध१त २३७ र ध१त ४५८ नंको ट्र्याक्टर नियन्त्रणमा लिएर बागलुङ नगरपालिकालाई बुझाएको छ । ट्र्याक्टर चालकबाट पहिलोपटक रु पाँच हजार, दोस्रो पटक रु १० हजार र तेस्रोपटकमा रु २० हजार जरिवाना असुल्ने कानुनी व्यवस्था छ । 

जैमिनीमा आइतबार पनि सेवा प्रवाह 

बागलुङको जैमिनी नगरपालिकाले आइतबारको बिदा नदिने निर्णय गरेको छ । नगर कार्यपालिकाको बिहीबारको बैठकले नगर क्षेत्रभित्र आइतबार बिदा नदिने निर्णय गरेको हो ।
नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकाले सेवा प्रवाह नरोक्ने निर्णय गरिएको उपप्रमुख हरिहर शर्माले बताए । जैमिनीले वडा तहमा योजना सम्झौता र फरफारकका लागि तयारी गरेको छ । जैमिनीले गर्भवती र सुत्केरी स्वास्थ्यचौकी जानुपर्दा यातायातको साधन चाहिएमा नगरपालिकाले प्रबन्ध गराउने गरी कार्यविधिसमेत बनाउन लागेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १६:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार