एमालेद्वारा बागमती प्रदेशसभा अवरुद्ध

बिहीबार, जेठ १९, २०७९

मकवानपुर । बागमती प्रदेशसभाको बैठक अवरुद्ध भएको छ । बैठक सुरु भएलगत्तै नेकपा (एमाले)ले अवरोध गरेपछि बैठक केही समयका लागि स्थगन गरिएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको बैठक सुरु भएलगत्तै एमालेका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले एमालेका मुख्य सचेतक दीपक निरौलालाई आफ्ना भनाइ राख्न समय उपलब्ध गराएका थिए ।  
मुख्य सचेतक निरौलाले पशुपन्छी तथा मत्स्य विकास केन्द्रका तीन कर्मचारीलाई वर्तमान सरकारले आफू अनुकूल नभएकाले सरुवा गरेको भन्दै विरोध जनाए  । उनले घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षीय छानबिन समिति गठनको प्रक्रिया अघि नबढाउञ्जेल संसद्मा अवरोध कायमै राख्ने बताएपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक १० मिनेटका लागि स्थगन गर्नुभएको हो । बैठक अझै चल्न सकेको छैन ।  

मधेस प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि

यता मधेस प्रदेश प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले प्रदेशसभाको नवौँ अधिवेशन सुरु हुन लागेको हो । 
आज दिउँसो १ बजे प्रदेशसभाको बैठक बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा नवौँ अधिबेशन आह्वानसम्बन्धी प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र सभामुखले बाचन गरी सुनाउने र विभिन्न पार्टीका संसदीय दलका नेताले मनतव्य राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । यस्तै केही दिनअघि निधन भएका प्रदेशसभा सदस्य डिम्पलकुमारी झाको शोकप्रस्ताव आजको बैठकमा पेश गरिने कार्यसूची रहेको छ । 
यही अधिवेशनअन्तर्गत मधेस प्रदेश सरकारले यही जेठ २२ गते आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत हुने प्रदेशसभा सदस्यलाई जानकारी गराउने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । यस्तै मधेस प्रदेश सरकारले आगामी असार १ गते प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्ने तयारी भइरहेको छ । 
नीति तथा कार्यक्रमपश्चात् प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रदेशसभामा पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विसं २०७८ चैत २९ गते प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार