काठमाडौंको आकाश अझै केही दिन तुँवालोले ढाक्ने

भोलि अपराह्नपछि पश्चिमी वायू सक्रिया हुन सक्ने
सोमबार, चैत १६, २०७७

काठमाडौँ । विगत केही दिनदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ । तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।  उनका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो । तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । ‘भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ’ उनले भने ।  यसले हावाको वेग बढ्नुका साथै फाफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ ।  हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका एक,दुर्ई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।–रासस
 

प्रकाशित मिति: सोमबार, चैत १६, २०७७  १८:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार