सोसल मिडिया
Contact Us
युनिकोड
फाइजरले अमेरिकामा खोपलाई आकस्मिक अनुमति दिन आवेदन दिएको छ
वासिङ्टन । कोभिड–१९ को खोप अमेरिकी नागरिकहरूले डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने भएका छन् । अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुखले खोप बारे जानकारी दिएका हुन् । डा. मोन्सेफ स्लावीले स्वीकृति पाएको २४ घन्टाभित्र खोप पु¥याइने योजना सुनाए । देशव्यापी रूपमा कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अमेरिकामा एक करोड २० लाखभन्दा धेरै मानिस संक्रमित छन् । दुई लाख ५५ हजार जनाको मृत्यु भएको छ । अमेरिकी कम्पनी फाइजर र त्यसको सहायक कम्पनी बायोएनटेकले अमेरिकामा आफ्नो खोपलाई आकस्मिक अनुमति दिन शुक्रबार आवेदन दिएको थियो । दुई पटक लगाइनुपर्ने खोपको परीक्षण ९५ प्रतिशत प्रभावकारी देखिएको छ ।
तयारी के छ ? परीक्षणका क्रममा मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टीबडी र टी(सेलहरू आफैँ बनाउँछ । फाइजरले यो वर्षको अन्त्यसम्ममा पाँच करोड डोज खोप उत्पादन गर्ने आशा गरेको छ । अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) को खोपसम्बन्धी परामर्श समितिले खोपलाई अनुमति दिनेबारे डिसेम्बर १० तारिखमा छलफल गर्ने निधो गरेको छ । डा. स्लावीले ‘अनुमति पाएको दुई दिनमै’ खोप दिन सकिने बताए । खोप त्यहाँका राज्यहरूको जनसंख्याको आधारमा वितरण गरिने योजना छ । सुरुमा खोप कसलाई दिने भन्ने निर्णय सम्बन्धित राज्यहरूले गर्ने छन् । तर स्वास्थ्य कार्यकर्ता र वृद्धवृद्धाजस्ता जोखिम समूहमा पर्नेहरूलाई प्राथमिकता दिइने छ । अर्को कम्पनी मोडेर्नाले परीक्षणको आधारमा आफ्नो खोप पनि करिब ९५ प्रतिशत प्रभावकारी देखिएको जनाएको छ । आउने केही हप्ताभित्र उसले पनि आफ्नो खोपको स्वीकृति खोज्ने ठानिएको छ । खोपको प्रभावकारिताका आधारमा आउँदो मे महिनासम्ममा खोपमार्फत् ७० प्रतिशत जनसंख्यामा रोग प्रतिरोधात्मक क्षमता प्राप्त गर्नेछन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्न्द्र (सीडीसी) ले देशव्यापी कोरोनाभाइरसको संक्रमण व्यापक रूपमा बढिरहेको चेतावनी दिएको छ ।
अक्सफर्ड यूनिभर्सिटीको खोपले ७० प्रतिशत सुरक्षा दिने यूनिभर्सिटी अफ अक्सफोर्डले कोरोनाभाइरसविरुद्ध बनाएको खोपले ७० प्रतिशत मानिसमा कोभिडको लक्षण बन्न नदिने एउटा ठूलो परीक्षणले देखाएको छ । फाइजर र मोडर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोपले ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने घोषणा गरेका छन् । तर ती दुई खोपभन्दा अक्सफोर्डको खोप धेरै सस्तो हुने, सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने देखिएको छ । नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफोर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए । ‘आजको घोषणाले हामीलाई खोपको प्रयोगबाट कोरोनाभाइरसका कारण सिर्जित विनाश अन्त्य गर्न अर्को पाइला अगाडि लगिदिएको छ’, उक्त खोप निर्माणकी योजनाकार प्राध्यापक सारा गिल्बर्टले भनिन् । यूके सरकारले अक्सफोर्ड खोपको १० करोड मात्रा लिने बताइसकेको छ । त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ ।
परीक्षणले के देखायो ? यो खोप परीक्षणमा २०,००० स्वयंसेवकहरू सहभागी .थिए । तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्रजिलमा थिए। दुई मात्रा खोप दिइएकामध्ये ३० जनालाई कोभिड भयो तर डमी अर्थात् नक्कली खोप दिएका १०१ जनालाई कोरोनाभाइरस संक्रमण भयो । अनुसन्धानकर्ताहरूका अनुसार यो खोपले ७० प्रतिशत सुरक्षा दिन्छ । .स्वयंसेवकहरूलाई दुई चोटि उच्च मात्रामा खोप दिइँदा ६२ प्रतिशत सुरक्षा भएको देखियो । तर पहिलो पटक कम मात्रा र दोस्रो पटक उच्च मात्रामा खोप दिँदा सुरक्षा ९० प्रतिशतसम्म पुग्यो । के कारणले त्यत्रो भिन्नता देखियो भन्ने कुरा स्पष्ट भएको छैन । ‘हामी परिणामबाट साँच्चै सन्तुष्ट छौँ’, प्रमुख अनुसन्धानकर्ता एन्ड्रू पोलर्डले बताए । उनका अनुसार ९० प्रतिशत प्रभावकारिताको तथ्यांक उत्साहवर्धक छ अनि त्यसबाट वितरण गर्न धेरै मात्रामा खोप हुनेछ ।
अरू कुन खोप विकास भइरहेको छ ? आगामी साता वा महिनामा परीक्षणको अन्तिम चरणमा रहेका अन्य खोपको तथ्यांकहरू पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ । अन्य खोपहरू पनि तेस्रो चरणको परीक्षणमा रहेका छन् ।–बीबीसी