यौन दुव्र्यवहार आरोपमा चिकित्सक पक्राउ

शनिबार, चैत १४, २०७७

सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ ।
उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।  उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुव्र्यहार गरेको आरोपमा डा.जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा .जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिए । डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन् ।  डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताइन् । डा. जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए ।  पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।–रासस
 

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार