भारतीय जेलमा बिना कसुर ४० वर्ष बसेका दुर्गाप्रसादले नेपाल आए लगत्तै लिए नागरिकता

बिहीबार, चैत १२, २०७७

इलाम । विनाकसुर ४० वर्ष भारतीय जेलमा बिताएर स्वदेश फर्किएका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नागरिकता लिएका छन् । नागरिकतामा उनको उमेर ६१ वर्षको कायम छ । दुर्गाप्रसाद साबिकको एकतप्पा गाविसमा २०१७ साउन २० गते जन्मिएको नागरिकतामा उल्लेख छ । हालको ठेगाना भने माई नगरपालिका–१० लुम्बाक राखिएको छ । भतिजा गोपाल तिम्सिनाले सनाखत गरेपछि उनलाई जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता दिएको हो ।  गोपाल उनका कान्छा भाइका छोरा हुन् ।  दुर्गाप्रसादका बुबा चम्पाखरको पहिल्यै मृत्यु भइसकेको छ । आमा धनमाया लुम्बाकमै बसोबास गर्छिन् । बुढ्यौलीले कमजोर भएकाले उनी छोरालाई नागरिकता बनाइदिन सदरमुकाम आउन सकिनन् । दुर्गाप्रसादको नागरिकतामा प्रशासकीय अधिकृत देवीचरण फुयाँलले हस्ताक्षर गरेका छन् । २० वर्षकै उमेरमा भारत छिरेका उनको जेल परेपछिको अदालती काम कारबाहीमा भने दीपक जैसी भनी नाम उल्लेख गरिएको छ । नागरिकता बनाउन बुधबार वडा कार्यालयले सिफारिस गरिदिएको थियो । भारतीय अदालतमा पेस गर्नका निम्ति बुधबारै भाइ प्रकाश, भतिज गोपाल र दुर्गाप्रसादको नाता प्रमाणितसमेत गरिएको छ । २०३७ सालदेखि बेपत्ता भएका दुर्गाप्रसादका बारेमा लामो समय परिवारलाई पत्तो थिएन । दुर्गाप्रसादका बुवा २००९ सालमा फाकफोकको साप्तिनबाट छिमेकी गाउँ एकतप्पा बसाइँ सरेका थिए । २०१७ सालमा दुर्गाप्रसाद त्यहीँ जन्मिएका हुन् । तिम्सिना परिवार त्यहाँबाट २०४० सालमा हालको माई नगरपालिका–१० लुम्बाक गएको हो ।

प्रकाशित मिति: बिहीबार, चैत १२, २०७७  १४:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार