बसले युवतीलाई ठक्कर दिएपछि लम्की तनावग्रस्त

प्रहरीको गोली लागेर दुई घाइते
मंगलबार, चैत १०, २०७७

भजनी । बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा  प्रहरीले गोली चलाउँदा दुईजना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि  केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।  उनका अनुसार गोली प्रहारबाट   घाइते  भएकालाई उपचारका लागि कोहोलपुर पठाइएको छ । आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना६ ८८३३ नंको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो । सोही विषयलाई लिएर आन्दोलित भएका स्थानीयवासीले राजमार्ग अवरुद्ध पार्नाका साथै टायर बालेर प्रदर्शन गरिरहेका छन् ।  प्रदर्शनकारीहरूले इलाका प्रहरी कार्यालय लम्की घेराउसमेत गरेका छन् । प्रदर्शनकारीलाई तितर बितर बनाउन हवाई फायरसमेत गरिएको थियो । ठक्कर दिने बस र चालक बर्दोगोरिया गाउँपालिका–१ का ३१ वर्षीय पुष्प कँडेललाई प्रहरीले  नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको  जनाइएको छ ।–रासस
 

प्रकाशित मिति: मंगलबार, चैत १०, २०७७  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार