सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । कोरोना भाइरसको संक्रमणको दर देखिन थालेपछि स्थगित कक्षा १२ को परीक्षामा विद्यार्थीले अनलाइनबाटै पनि दिन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएपछि विद्यार्थीले अनलाइनबाटै परीक्षा दिन पाउने भएका हुन् । आगामी मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा बुधबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटघाट गर्दा उनले यस्तो तयारी थाल्न भनेका हुन् । ‘विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउनु पर्छ’ शिक्षा मन्त्री पोखरेलले भनेका थिए । मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन पनि निर्देशन दिएका छन् । छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ । छलफलमा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी थिए । बोर्डले विभिन्न विकल्पसहित अनलाइनबाट पनि परीक्षा लिन सक्ने गरी नेपाल सरकारलाई सिफारिस गरेको थियो । परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङकका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ संक्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्नेछ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो । कक्षा ११ को परीक्षा विद्यालयहरुले आफ्नै ढङगबाट लिन लागेका छन् । परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निर्देशिका जारी गरी प्रश्नपत्र तयारी तथा उत्तर पुस्तिक परीक्षण, अंक भारका लागि छुट्टा छुट्टै प्रावधानको प्रवन्ध गरेको छ ।