कोभिडविरुद्ध बनेको एन्टिबडी शरीरमा ‘६ महिना बस्छ’

कोरोना भाइरस संक्रमण 
शनिबार, मंसिर ६, २०७७

लण्डन । कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा ६ महिना बस्ने र तिनले दोस्रो पटक संक्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ । अक्स्फोर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत स्वास्थ्यकर्मीको नियमित कोभिड–१९ परीक्षण र पहिला संक्रमण भएको थियो कि थिएन भनेर हेर्न एन्टिबडी परीक्षण गरिएको थियो । शरीरमा जति धेरै मात्रामा एन्टिबडी हुन्छ पुनः संक्रमण हुने सम्भावना पनि उति नै कम हुन्छ । अर्को छुट्टै अध्ययनमा अरू कोरोनाभाइरसका कारण विकसित प्रतिरक्षा क्षमताले पनि कोभिड–१९ हुन नदिएको देखियो ।
संक्रमणविज्ञ डा. केटी जेफ्रीले कोभिड खोप बन्न लागेको अवस्थामा अक्स्फोर्ड यूनिभर्सिटीको निष्कर्षलाई ‘उत्साहवर्धक समाचार’ भनेकी छन् । उनका अनुसार एक चोटि भाइरसको संक्रमण भएपछि फेरि कोभिड हुन नदिन ‘छोटो अवधिकै लागि भए पनि सुरक्षा प्राप्त’ हुने अनुसन्धाताहरूले बताएका छन् ।

के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ ?

अक्स्फोर्ड यूनिभर्सिटीको अध्ययनमा स्वास्थ्यसेवाका १२,००० कर्मचारीलाई संलग्न गराइएको थियो । तीमध्ये ११,००० जनामा कोभिड–१९ को एन्टिबडी भेटिएको थिएन । भाइरल संक्रमण हुँदा शरीरले एन्टिबडी निर्माण गर्छ । ती तत्वहरूले भाइरसलाई अन्य कोषभित्र छिर्न दिँदैनन् । अध्ययन आरम्भ गरिँदा एन्टिबडी नभएकामध्ये ८९ जनामा लक्षणसहितको संक्रमण भयो । स्वाब परीक्षणबाट संक्रमण पुष्टि गरिएको थियो । तर कोरोनाभाइरसविरुद्ध एन्टिबडी भएका कुनै व्यक्तिमा पनि अध्ययन अवधिभरि लक्षण देखिने गरी संक्रमण भएन । परीक्षण गर्दा एन्टिबडी बनेको पुष्टि भए पनि तीन जनामा भने लक्षणविहीन कोभिड–१९ भएको पाइयो । उक्त समूहमा ७६ जनामा एन्टिबडी थिएन । तर ती तीन जना पनि बिरामी भएनन् । संक्रमण हुँदा शरीरले आफ्नो प्रतिरक्षाका लागि एन्टिबडी बनाएर कीटाणुलाई आक्रमण गर्छ

रुघाबाट टी–सेल
उक्त अध्ययनका अनुसार ‘सार्स–कोभ–२ सँग फेरि संसर्ग हुँदा पनि लक्षण नदोहोरिने गरी’ परिणाममा एकरूपता देखियो । यो अनुसन्धानमा कोभिड–१९ गराउने कोरोनाभाइरसको ‘स्पाईक प्रोटीन’ विरुद्ध बन्ने एन्टिबडीको अध्ययन गरिएको थियो । कोरोनाभाइरसको सतहमा बनेको काँडाजस्तो देखिने उक्त प्रोटीनलाई लक्ष्य गरेर अहिले खोप निर्माणको काम भइरहेको छ । अनुसन्धानमा सहभागी व्यक्तिहरूलाई ३० सातासम्म परीक्षण गरिएको थियो ।
यो साताको आरम्भतिर पब्लिक हेल्थ इङ्ग्ल्यान्डले गरेको एउटा शोधमा मानव शरीरको प्रतिरक्षा प्रणालीले बनाउने टी–सेल नामक विशेष कोषको अध्ययन गरेको थियो । अध्ययनमा सहभागी गराइएका कर्मचारीमध्ये एकचौथाइमा टी–सेलको मात्रा उच्च भएको र ती कोषले शरीरभित्र रगतमा कोरोनाभाइरस भए पत्ता लगाउने गरेको देखिएको थियो । तर तीमध्ये आधाभन्दा केही बढीमा मात्र कोभिड–१९ भएको पुष्टि भएको थियो । 
उक्त शोधले त्यस्तो प्रतिरक्षा क्षमता कोभिड–१९ गराउने भाइरसबाहेक सामान्य रुघा गराउने अन्य कोरोनाभाइरसको संक्रमणका कारण विकसित भएको हुन सक्ने निष्कर्ष निकालेको छ । पहिला कोभिड भएको भए पनि नभए पनि उच्च मात्रामा सम्बन्धित टी–सेल भएका व्यक्तिहरूलाई चार महिनासम्म कोभिड–१९ भएन ।–बीबीसी 
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार