नाइजरमा बन्दुकधारीको आक्रमणमा कम्तीमा ४० नागरिकको मृत्यु 

सोमबार, चैत ९, २०७७

निआमी । बन्दुकधारीहरूको आक्रमणमा परी नाइजरमा कम्तीमा ४० नागरिक मारिएका छन् । अपरिचित बन्दुकधारीहरूले स्थानीय समय अनुसार आइतबार राति आक्रमण गर्दा उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । छिमेकी मुलुक मालीसँग सिमाना जोडिएको देशको पश्चिमी क्षेत्रमा पर्ने ताहौआका विभिन्न ठाउँमा भएका घटनामा परी उनीहरूको मृत्यु भएको हो ।  घटना र क्षतिका बारेमा सरकारी अधिकारीहरूले पर्याप्त जानकारी नदिएपनि नाम सार्वजनिक नगरिदिने सर्तमा एक सुरक्षा अधिकारीले यो जानकारी दिएका हुन् । ठूलो सङ्ख्यामा मोटरसाइकलमा आएका आक्रमणकारीहरूले घरघरमा आगजनी गरेका थिए । आगजानीका कारण कतिपय घरहरू पनि जलेका छन् ।  घटना भएका क्षेत्रमा गत हप्ता पनि शंकास्पद आतङ्कवादीहरूले आक्रमण गर्दा ५८ जनाको मृत्यु भएको थियो ।     नाइजरमा पछिल्लो समय हिंसात्मक घटनामा बृद्धि भएको छ । आक्रमणमा परी आम नागरिकसँगै सुरक्षाकर्मीहरूको पनि मृत्यु हुने गरेको विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघसंस्था तथा सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।– एएनआई 
 

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  २१:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार