सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चालीस वर्षभन्दा बढी समय भारतीय जेलमा रहेका नेपाली दीपक जैसी तिम्सिना आइतवार बिहान नेपाल आइपुगेका छन् । भारतको सीमा पानीट्याङ्कीमा केही बेर कागजात बुझाउन लागेको समयपछि उनी भाइ प्रकाशचन्द्रसँगै सीमा नाकाबाट हिँडेर नेपालतर्फ प्रवेश गरे । कर्तव्य ज्यान मुद्दामा सन् १९८० मा भारतको दार्जिलिङबाट पक्राउ परेका तिम्सिना ४० वर्ष बिनासुनुवाइ कारागारमा रहेका थिए । इलामको एकतप्पाबाट २०३७ सालमा हराएका तिम्सिना बुधवार अदालतको आदेशपछि शनिबार कोलकाताबाट कारागारमुक्त भएका हुन् । आइतवार नै उनी इलामको माइ नगरपालिका १० मा रहेको उनको घर पुग्नेछन् । ४० वर्षपछि उनले आफ्नी ८६ वर्षीया आमा र परिवारका अन्य सदस्यलाई भेट्ने छन् । उनी २० वर्षको उमेरमा हराएका थिए । ६१ वर्षको उमेरमा घर फर्केका हुन् । उनका काकाका छोरा भाइ प्रकाशचन्द्र तिम्सिनाले उनलाई कारागारबाट छुटाएर नेपाल लिएर आएका हुन् । गत बुधवार कोलकाता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएको थियो । उनलाई तपाईं कहाँ जाँदै हुनुहुन्छु भनेर सोध्दा मलिन स्वरमा भने, ‘दार्जिलिङ हो कि ।’ कारागारमा रहँदा उनलाई ६–६ महिनामा उनलाई पक्राउ गरिएको स्थान भारतको दार्जिलिङ लगिने गरिएको बताइएको छ । काँकरभिट्टास्थित विश्वसेवा विस्तार मञ्चको कार्यालयमा आइपुगेर उनलाई पानी पिउन दिँदा उनले भने, ‘पाइखाना पातलो हुन्छ, खान्न ।’ उनका दाँत सग्ला छैनन् । ओठ कामिरहेको थियो । हातका औँला नाचिरहेका थिए । गर्मीका कारण पङ्खा चलाउँदा हात बाँधेर जाडो भएजस्तो गरिरहेका थिए । ‘तपाईंको आमा हुनहुन्छ नि’ भन्दा उनले जवाफ दिए, ‘पहला था ।’ उनलाई कारागारमुक्त गरिए पनि उनको मुद्दाको फैसला भएको छैन । अदालतले उनका भाइ प्रकाशचन्द्र र कोलकातास्थित महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा उनलाई कारागारमुक्त गर्ने आदेश दिएको हो । ६–६ महिनामा उनको अवस्थाको जानकारी अदालतलाई दिनुपर्ने सर्तमा उनी रिहा भएका हुन् । काँकरभिट्टामा उनलाई ‘तपाईंलाई किन जेलमा राखिएको’ भनेर सोध्दा उनले जवाफ दिए, ‘मर्डर ।’ तर उनले सानो स्वरमा थपे, ‘मैले होइन ।’ कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा बढी समयदेखि भारतको कारागारमा थुनिएका नेपाली नागरिक दीपक जैसी तिम्सिनालाई शनिबार रिहा गरिएको हो । उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधबार साँझ आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि उनलाई कोलकाताको दमदम कारागारमा मुक्त गर्ने प्रक्रिया शुक्रबार देखि शुरु भएको थियो । प्रकाशचन्द्र र कोलाकातास्थित नेपाली महावाणिज्य दूतका निजी सचिव सतीश थापाको रोहबरमा दीपकलाई कारागारमुक्त गरिएको हो ।
दीपकलाई रिहा गर्न अदालतले आदेश दिए पनि उनको मुद्दा किनारा लागिनसकेको उनको पक्षबाट मुद्दा लडेका कोलकाताका कानुन व्यवसायी हीरक सिन्हाले बताए । जेलबाहिर तिम्सिनालाई माला लगाएर तथा मिठाइ ख्वाएर स्वागत गरिएको थियो । दमदम कारागारबाहिर सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति थियो । कारागारमुक्त भएर चार दशकपछि बाहिरी संसार देख्न पाएका तिम्सिनालाई सञ्चारकर्मीहरूले केही प्रश्न गरेका थिए । तर उनको मुखबाट कुनै वाक्य निस्किएन । उनी कारागारमुक्त भएका बेला उनका पक्षमा मुद्दा लडेका कानुन व्यवसायी तथा उनको विषयमा सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरेका पत्रकारहरू उपस्थित थिए । उनलाई रसबरी ख्बाएपछि एक शुभचिन्तकले उनको हातमा एउटा बट्टा दिन खोज्दै ‘यो तपाईंकी आमालाई लगिदिनुस्’ भनेको भिडिओमा सुनिन्छ । सिन्हाले भने, ‘उनको मुद्दा सकिएको होइन । तर उनको मानसिक अवस्थालाई ध्यानमा राखेर अदालते रिहा गर्न आदेश दिएको हो ।’ तिम्सिनालाई रिहा गर्न अदालतले सर्त राखेको थियो। त्यही सर्त परिवारका सदस्य तथा महावाणिज्य दूतावासले मानेपछि उनी शनिवार रिहा भएका हुन् । उनको बारेमा उनी पक्राउ परेको स्थान भारतको दार्जिलिङ वा कोलकाता उच्च अदालतलाई छ–छ महिनामा उनीबारे जानकारी गराउनु पर्ने सर्त अदालतले राखेको छ ।
इलामबाट हराएका थिए दीपक जैसी तिम्सिना २०३७ सालदेखि इलामको एकतप्पास्थित उनको घरबाट हराएका थिए । तोरीको पोको बेच्नका लागि भनेर इलामको मङ्गलबारे हिँडेका उनी घर फर्किएका थिएनन् । त्यसपछि उनी रोजगारी खोज्दै भारतको दार्जीलिङ पुगेको बताइएको छ । उनलाई दमदम कारागारमा उनका परिवारका सदस्यले केही दिनअघि भेटेका थिए । त्यो बेला उनको मानसिक अवस्था ठिक नभएको परिवारका सदस्यले पाएको उनका काकाका छोरा प्रकाशचन्द्रले बताएका थिए । उनलाई बिना सुनुवाइ कोलकाताको दमदम केन्द्रीय कारागारमा राखिएको थियो ।–बीबीसी