फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुशी

शनिबार, चैत ७, २०७७

हेल्सीन्की । फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुशी रहेको पाइएको छ ।  खुशी नागरिकको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सबैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ । 
गत वर्ष विश्वभरी नै कोरोनाभाइरसको महामारी फैलिएपनि फिनल्याण्डका नागरिकको खुशीयाली तुलनात्मकरुपमा अगाडि नै रहेको छ । एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्णभरोसाका कारण आम नागरिकमा खुशीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।  अध्ययनकर्ताका अनुसार फिनल्याण्डपछि धेरै खुशी हुनेमा आइसल्याण्डका नागरिक परेका छन् । नागरिकलाई खुशी राख्ने देशको सूचीमा डेनमार्क र स्विजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन् । सूचीमा रहेका अघिल्ला दश देशमध्ये न्युज ल्याण्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ ।  सूचीमा अमेरिका १४औँ क्रममा रहेको छ भने बेलायत १८औँ नम्मरमा परेको छ । जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ । यसअघि १७आँै नम्मरमा रहेको जर्मनी यस पटक सातौ क्रममा परेको छ । विश्व खुशीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ । प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्थालगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुशीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताले जनाएका छन् ।– एएनआई
 

प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार