कोरोनाभाइरस रोक्ने खोपलाई अनुमति दिन फाइजरद्वारा अमेरिकी निकायमा आवेदन

कोभिड–१९ खोप 
शनिबार, मंसिर ६, २०७७

वासिङ्टन । फाइजर र उसको सहायक कम्पनी बायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा आवेदन दिएका छन् । उक्त खोप प्रयोग गर्न सुरक्षित छ कि छैन भन्ने निर्णय अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले गर्नेछ । उक्त खोपको परीक्षणसम्बन्धी तथ्यांक अध्ययनका लागि एफडीएले कति समय लगाउँछ भन्ने स्पष्ट छैन । यद्यपि अमेरिकी सरकारले डिसेम्बर महिनाको मध्यसम्ममा खोपलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । अन्तिम चरणका परीक्षणका तथ्यांकले ६५ वर्ष उमेरमाथिका मानिसलाई खोपले ९४ प्रतिशत जोगाउने देखाएको छ । यूकेले उक्त खोपको चार करोड मात्रा मगाइसकेको छ । त्यसमध्ये यो वर्षको अन्त्यसम्म उसलाई एक करोडवटा खोप उपलब्ध भइसक्नुपर्नेछ । अमेरिकामा खोपको कति आवश्यकता छ भन्ने कुरा कोरोनाभाइरसका कारण बिहीवार ठूलो संख्यामा भएको मृत्युले देखाउँछ । जुन महिनायता पहिलोपटक त्यहाँ एकै दिनमा २,००० भन्दा बढीको मृत्यु भएको थियो ।

कहिलेसम्म खोप उपलब्ध होला ?
यदि एफडीएले डिसेम्बरको आधासम्ममा स्वीकृति दियो भने फाइजर र बायोएनटेक ‘केही घण्टाभित्रै खोप वितरण गर्न तयार’ भएको उनीहरूले बताएका छन् । विश्वव्यापी महामारी बनेर फैलिएको यो कोरोनाभाइरसको आनुवंशिक संरचना थाहा भएको १० महिनामै खोप विकासको यो कामलाई ठूलो उपलब्धि मानिएको छ । सामान्यता अमेरिकामा कुनै नयाँ खोप स्वीकृतिका लागि औसत समय आठ वर्ष रहँदै आएको छ ।
फाइजरका प्रमुख कार्यकारी अधिकृत अल्बर्ट बुर्लाले आकस्मिक प्रयोगका लागि दिइएको आवेदन ‘विश्वलाई कोभिड–१९ को खोप दिने यात्रामा यो एउटा कोसेढुङ्गा’ भएको टिप्पणी गरे । सुरुमा खोपको मात्रा अपर्याप्त हुने हुँदा सेन्टर्स फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसीपी) ले कसलाई पहिला दिने भन्ने निधो गर्नेछ । युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले पनि खोप यो वर्षको अन्त्यसम्म उपलब्ध हुन सक्ने बताएकी छन् ।
लन्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसिनमा कार्यरत प्राध्यापक स्टीफन इभान्सले एफडीए र युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले ‘एकदमै सावधानीपूर्वक मूल्याङ्कन गर्ने’ बताए । यो खोपको व्यापक प्रयोगका लागि अझै धेरै कुर्नुपर्नेछ । उनी भन्छिन्, ‘किनभने यसलाई अवलम्बन गर्न पहिला कहिल्यै स्वीकृति नपाएको प्रयोगात्मक प्रविधि चाहिन्छ ।’

यो खोप कति प्रभावकारी छ ?
यसै साता सार्वजनिक भएको विवरणहरूले फाइजर र बायोएनटेक खोपको प्रभावकारिता ९५.५ रहेको दाबी गरेका छन् ।
यसको प्रभावकारिता सबै उमेरसमूहमा एकरूपता रहेको छ ( परीक्षणमा जोखिममा रहेका वयस्क र जातजाति र फरक लिङ्गलाई बढी महत्व दिइएको थियो । परीक्षणका क्रममा खोप दिइएका मानिसमा सामान्यदेखि मध्य र छोटो समयका लागि अन्य प्रभाव पनि देखा परेका थिए ।
मानिसको प्रतिरक्षा प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सक्रिय पार्न यो खोपमा उक्त भाइरसको आनुवंशिक संरचना आरएनएको अंश प्रयोग गरिएको थियो । खोप लिएपछि कोरोनाभाइरुसविरुद्ध लड्नका लागि शरीरले रोगसँग लड्ने एन्टिबडी र टी–सेलहरू आफैँ बनाउँछ ।
यो सातामात्रै अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघेको छ । यो जुन विश्वमा अहिलेसम्म सबैभन्दा धेरै संख्या हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वव्यापी महामारी सुरु भएयता विगतका सातामा सङ्क्रमित पुष्टि हुने र मृत्यु हुने संख्या पनि अमेरिकामा बढ्दै गएको छ । 

अरू खोपको स्थिति के छ ?
अमेरिकी कम्पनी मोर्डनाको तथ्यांकअनुसार उसले बनाएको खोपले पनि ९५ प्रतिशत सुरक्षा दिन्छ । यसले पनि एमआरएनए विधि नै अपनाएको हो । 
खोप विकास गर्नेमा यो पनि फाइजररबायोएनटेक खोपभन्दा त्यति धेरै पछाडि नरहेको ठानिएको छ ।
अक्स्फोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेका खोप पनि परीक्षणकै क्रममा छ र यसले राम्रा परिणामहरू देखाएका छन् । यूकेले आफूले उक्त खोपको एक करोड मात्रा लिने बताइसकेको छ । रुसमा बनाइएको अर्को खोपको परीक्षण पनि उत्साहवर्धक देखिएको छ । यसले अक्स्फर्ड खोपले जस्तै काम गर्छ । चीन र रुसमा अरू खोपहरू पनि परीक्षणको अन्तिम चरण छन् ।–बीबीसी
 

प्रकाशित मिति: शनिबार, मंसिर ६, २०७७  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार