निर्वाचन विरोधी गतिविधिमा संलग्न भए कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

मंगलबार, वैशाख २७, २०७९

काठमाडौँ, २७ वैशाख । गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारवाहीको भागीदार हुने जनाएको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झैझगडाका छिटफुट घटना घट्ने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ ।
निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्र्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारवाहीको भागीदार हुने उल्लेख गरेको छ । निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सूक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा आज जारी विज्ञप्ति जनाइएको छ ।
स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकै चरणमा हँुदैछ । नेपाल सरकारले संविधान, प्रचलित कानून तथा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुरूप निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सञ्चालन गर्न आवश्यक सुरक्षा व्यवस्था कायम गर्न र निर्वाचन व्यवस्थापनका लागि देशभर करिब दुई लाख ६० हजारको सङ्ख्यामा सुरक्षाकर्मी र करीब तीन लाखको हाराहारीमा कर्मचारी परिचालन गरेको छ ।
मतदानका लागि मतदातालाई निर्वाचन प्रणाली, राजनीतिक पद्धति, उम्मेदवार तथा तिनका प्रतिबद्धता, राजनीतिक दल तथा तिनका विचार र घोषणापत्रका सम्बन्धमा सुसूचित हुनु आवश्यक छ । निर्वाचन असल सामाजिक संस्कार, सद्भाव र लोकतान्त्रिक अभ्यास विकासको अवसरसमेत हो । निर्वाचनका माध्यमबाट जनप्रतिनिधि छनोट गर्ने पवित्र कार्यमा सहभागी भई सहयोग र सहजीकरण गरी राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीलाई आफ्नो कर्तव्य पालनामा साथ दिनुहुन मन्त्रालयले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने उपत्यकाका तीन जिल्ला प्रमुखसहित सुरक्षा संयन्त्रको निर्णय

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उपत्यकालाई शान्तिसुरक्षाका दृष्टिकोणमा मजबुद र बलियो सुरक्षा संयन्त्र बनाउने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको आयोजनामा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित तीनवटै जिल्लाका सुरक्षा समितिका पदाधिकारीबीच अन्तर जिल्ला सुरक्षा समन्वय बैठकमा यस्तो निर्णय भएको हो ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन र मतगणना सम्पन्न नभएसम्मका लागि उपत्यकाका तीन जिल्लाको शान्तिसुरक्षा, अपराध न्यूनीकरण, स्थानीय तह निर्वाचन, २०७९ लाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहितरूपमा सम्पन्न गर्नेलगायतका विविध निर्णय भएको भक्तपुरका प्रजिअ शर्माले जानकारी दिइन् ।
    
तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, अनुसन्धान विभागका प्रमुखको बैठकले शान्तिसुरक्षाका लागि कार्यान्वयन गरिने विभिन्न सुरक्षाका रणनीतिका बारेमा छलफल गरी निर्णय भएको हो ।–रासस

 

प्रकाशित मिति: मंगलबार, वैशाख २७, २०७९  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार