अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइयो छठ पर्व 

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौँ । छठ पर्वको मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ  दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ  दिएपछि छठ समापन हुने गर्दछ । काठमाडौं उपत्यकाको बागमती किनार, कमलपोखरी, स्वीमिङ पुल आदिमा बनाइएको छठ घाटमा भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अर्घ  दिएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड—१९) का कारण ठूलो संख्यामा मान्छेहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ  दिन नदी किनारमा जाने गर्छन् ।
आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ  दिने परम्परा छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोलि उदाउँदो सूर्यलाई अर्घ  दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाक्षां पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ  दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ  दिएपछि यो पर्व समापन हुन्छ .

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार