सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ । मस्र्याङ्दी गाउँपालिका–७ दोभानचौर गाउँका ५४ वर्षीय तुलाराम विकले सानै उमेरदेखि पुख्यौली पेशा अङ्गाल्दै आएका छन् । उनको मात्र गाउँमा आरन व्यवसाय छ । उनी गाउँभरिका कृषि औजार सहित हातहतियार बनाउँछन् । उनको यस्तो काम दैनिकरुपमा वर्षांैभरि चलिरहन्छ । उनको जीवन यो पेशाबाट वर्षभरि नभई वर्षमा मुस्किलले एक दुई महिनामात्रै चल्दै आएको छ । गाउँभरि एकमात्र उनको यस व्यवसाय रहेकाले आम्दानी पनि राम्रो नै छ । उनले भने, ‘परिवारको जीवनसमेत राम्रोसँग नै होला भन्ने सोच जो कसैको हुनुसक्छ । व्यवसाय गाउँघरमा चलिरहेकै पनि छ ।’ व्यवसायबाट भने आम्दानी राम्रो हुन नसक्दा अर्थात् अभैm पनि अन्नबाली (बालीघरे प्रथा) मै काम गर्नु पर्दा काम गरेबापत अन्नबाली पाउने भएकाले त्यस अन्नबालीले पर्याप्त नहुने उनले गुनासो गरे । उनले भने, ‘वर्षभरि यस गाउँलेका हषिया, कुटो, कोदालो, बञ्चरोलगायत कृषि औजार बनाएबापत प्रत्येक घरधुरीसँग ज्यालाको रुपमा अन्नपात (धान, मकै, कोदो) लिँदै आएको छु । त्यही पनि वर्षको दुई चार पाथीकै भरमा ।’ उनले गाउँभरिका औजारको काम यसरी नै गर्दै आउनुभएको वर्षौं वर्ष भयो । उनले भने, ‘आफ्ना बाबु बाजेदेखि चलिआएको पुख्यौली पेशा लोप हुन नदिन यस पेशा गर्दै आएको छु । जीवन चलाउन भने समस्या नै समस्या हुँदै आइरहेको छ ।’ अहिलेको आधुनिक प्रविधि तथा गाउँघरमा समेत तयारी औजारका सामग्री आउने गरेकाले समेत आरन व्यवसाय नै सङ्कटमा पर्दा झन समस्या हुन थालेको उनको भनाइ छ । यहाँ अचेल धेरै कम मान्छेहरु मात्र आउने गर्दछन् । त्यही पनि हषिया, कुटो, कोदालोको धार लगाउनका लागि । गाउँका केही केहीले कहिले काही औजारमा धार लगाइदिए बापत पैसा दिने गरे पनि त्यो निकै कम हुने उनले दुखेसो गरे । आरन व्यवसायी विकले भने, ‘एउटा हँसियामा धार लगाए भने, पाँच दश रुपैयाँभन्दा बढी दिँदैन त्यही पनि यसरी पैसा दिएर काम लगाउने निकै कम छन् ।’ दैनिक चलाउन यस पेशाबाहेक गाउँलेका खेतीपातीसमेत गर्ने गरेको भए पनि आम्दानी राम्रो नहुँदा दैनिक गुजारा चलाउन पनि हम्मेहम्मे परिरहेको छ । यसरी काम गरेर जसोतसो उहाँले आफ्ना एक श्रीमती, दुई छोरा र तीन छोरी गरी आफूसहित सातको परिवार धान्दै आएका छन् । उनले भने, ‘हाम्रो सम्पत्तिको नाममा यही जहान मात्र छ । बस्ने जग्गासमेत आफ्नो नाममा छैन ।’ यहाँ करिब दुई दशकदेखि जङ्गल फँडानी गरेर जस्तापाताले बेरेर बस्दै आएको उनले बताए । उनी त केवल एक प्रतिनिधि मात्र हुन् । उनीजस्तै यहाँका ग्रामीण भेगका दलित समुदायको बेथा पनि उस्तै छ । परम्परादेखि चलिआएको बालीघरे प्रथा अझै हट्न नसक्दा जीवन समेत सहज रुपमा अघि बढ्न सकेको छैन । गाउँपालिका वडा नं.४ का ३७ वर्षीय सुन्दर विक, वडा नं. ९ का ४२ वर्षीय प्रेम विकले पनि बालीघरे प्रथामा आरन व्यवसाय गर्दै आएको छ । यस पेशाबाट जीवन चलाउन मुस्किल भइरहेको उनीहरुको भनाइ छ । जीवन नचले पनि आफ्ना पुख्यौली पेशाको संरक्षणको लागि भएपनि बालिघरे प्रथामा चित्त बुझाउँदै अघि बढिरहेको आरन व्यवसायी सुन्दर विकले बताए । मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होमबहादुर विकले भने, ‘यस गाउँपालिकाका अधिकांश गाउँमा मकै, धान, कादोमै औजारको काम गर्ने गरेका छन् ।’ यस्ता पेशा अङ्गाल्दै आएकामा चेतनाको कमीले गर्दा पनि समाजमा अझै बालीघरे प्रथा कायम रहिरहेको उहाँको भनाइ छ । गाउँका मान्छेले उनीहरुलाई पैसा दिएर काम गर्न लगाए पनि पैसाभन्दा अन्नबाली नै रोज्ने तथा खोज्ने र लिने गरेकाले पनि उनीहरुको जीवन सहजरुपमा चल्न नसकेको गाउँपालिका उपाध्यक्ष विकको भनाइ छ । परम्परागतरुपमा यस्ता पेशा अङ्गाल्दै आएका उनीहरुलाई आधुनिकरण र व्यवसायीकरण गर्दै अघि बढाउने योजनामा गाउँपालिकाको रहेको छ । उनले भने, ‘विस्तारै गाउँपालिकाको सबै वडा समेटेर दुई स्थानमा कृषि औजार निर्माण उद्योग सञ्चालन गर्ने तयारीमा रहेको छ ।’–रासस