गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार

बुधबार, वैशाख २१, २०७९

काठमाडौँ, २१ वैशाख । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् । 
उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहेका छन् । उनीहरु आआफ्ना पक्षमा जनमत सिर्जना गर्न ¥याली, घरदैलो, जुलुस तथा सभा गरिरहेका छन् । उम्मेदवारले यसपाली सामाजिक सञ्जालको भरपुर उपयोग गरेको पाइन्छ । गाउँबस्तीमा गीतसङ्गीतमार्फत पनि घरदैलो चलेको पाइएको छ । 
मुलुकका पाँच महानगर, ११ उपमहानगरसहित ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन हुन लागेकाले पनि मुलुक नै निर्वाचनमय भएको छ । त्यसमध्ये महानगरको चुनाव पेचिलो बनेको छ । यसअघि विसं २०७४ मा तीन चरणमा निर्वाचन सम्पन्न भएकाले मुलुक निर्वाचनमय बन्न सकेको थिएन तर यसपाली गाउँबस्तीमा निर्वाचनले छपक्कै छोपेको छ । उम्मेदवार मतदाता भेट्न खेतबारीसमेत धाइरहेका छन् । काम गरिरहेको स्थानमा पुगेर भेटघाट गर्ने र विभिन्न विकासका प्रतिबद्धतासहित मतदातालाई आकर्षित गरिरहेका पाइएको छ । सत्ता गठबन्धन दलकातर्फबाट काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंह चुनावी अभियान बोकेर मतदाताको घरघर पुगेकी छन् । 
काठमाडौँ सहरका युवालाई खेलकुदप्रति आकर्षित गराउन पहल गर्ने उनको प्रतिबद्धता छ । काठमाडौँलाई अन्तर्राष्ट्रिय जगतमै उच्च पहिचान दिलाउन कोसिस गर्ने र सुशासन, सुन्दर सहर, भ्रष्टाचारमुक्त र सम्पदा संस्कृतिको विकासमा योगदान दिने मतदातामाझ चुनावी प्रतिबद्धता जनाएका छन् ।
नेकपा (एमाले) बाट महानगरको प्रमुखमा उम्मेदवारी दिएका नेता केशव स्थापितले विसं २०५४ का मेयर जितेका थिए । स्थापित काठमाडौँको समृद्धिका योजनासहित महानगरका टोलटोलमा चुनावी अभियानमा सक्रिय भएको बताउँछन् । समय तालिका बनाएरै चुनावी अभियान थाल्नुभएका उहाँ नागरिकको सेवामा समर्पित हुने उद्घोषसहित मतदाता रिजाउने प्रयासमा छन् । 
उता मुलुककै ध्यान केन्द्रित भएको महानगर हो चितवनको भरतपुर । विगतमा मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएकाले अहिले पनि भरतपुर चर्चाको शिखरमा नै छ । सत्ता गठबन्धन दलले चितवनमा चुनावी घोषणापत्र नै बनाएर अभियान थालेको छ । गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहाल गएको पाँच वर्षमा विकासको एउटा जग तयार भएको सुनाउछिन् । उनी अब बाँकी रहेका योजना पूरा गर्न र समृद्ध महानगर बनाउने योजनाका साथ चुनावी अभियानमा होमिएकी छन् । उनले मतदाता माझ भरतपुरलाई मुलुककै नमूना र हेर्न लायक सहर बनाउने सङ्कल्प प्रस्तुत गरिन् । उनले महानगरमा कृषि, स्वास्थ्य, शिक्षा र विकासमा आफ्नो ध्यान जाने पनि मतदातामाझ प्रतिबद्धता जनाएकी छन् । 
चितवनको भरतपुरमा एमालेका तर्फबाट उम्मेदवार विजय सुवेदीले कसले जित्ने त्यो ठूलो कुरा नभई जनताले मन लागेको उम्मेदवारलाई भोट दिन सक्ने वातावरण निर्माण गर्नुपर्ने बताउँछन् । भरतपुर महानगरपालिका–१३ मा चुनावी सभालाई सम्बोधन गर्दै उनले ५० वर्ष पछाडिसम्मको विकासलाई हेरेर अहिले नै भरतपुरको गुरुयोजना बनाउन जरुरी रहेको बताएको छन् ।  मतदातामाझ उनले व्यवस्थित र सुरक्षित सहर निर्माण गर्ने योजना सुनाउँदै त्यसका लागि आफूलाई आउँदो पाँच वर्ष पर्याप्त हुने बताएका छन् ।    
उता पोखरा, वीरगञ्ज, विराटनगर र ललितपुर महानगरसहित मुलुकका ७५३ वटै स्थानीय तहका गाउँबस्ती तथा टोल यसैगरी चुनावमय भएका छन् । जिल्लाजिल्लाबाट प्राप्त विवरण र सूचनामा जनाइएअनुसार उम्मेदवार पालिकाको विकास र समृद्धका नारा बोकेर चुनावमा लागेका छन् । उम्मेदवारले स्थानीय तहको माग र आवश्यताअनुसारका आआफ्ना प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेका छन् ।
पर्यटक विकास, सडक, ढल, बत्ती, हरियाली र स्वच्छ वातावरण, विपद् व्यवस्थापन, तटबन्ध जस्ता कार्यक्रम, सामाजिक विकास नागरिक सशक्तिकरण, सिमान्तकृत, विपन्न, गरीब तथा असहाय र पछाडि पारिएका व्यक्तिका लागि राहत तथा पुनःस्थापनका कार्यक्रम उम्मेदवारका साझा प्रतिबद्धता पाइएका छन् । उनीहरुको योजनामा समृद्धि पालिका बनाउने र त्यसका लागि शिक्षा, स्वास्थ्य, सञ्चार, वातावरण संरक्षण, नदी नियन्त्रण, सडक सञ्जाल विस्तार, कृषि, उद्योग, मजदुर संरक्षण, गरिबी नियन्त्रण, बेरोजगारी समस्या समाधान, सांस्कृतिक सम्पदा संरक्षण गर्ने कुरा पनि समावेश छ ।
यसपाली सत्तापक्षीय राजनीतिक दलको एउटा गठबन्धन छ भने प्रमुख प्रतिपक्षी दल एमाले नेतृत्वको अर्काे गठबन्धन बनेको छ तर सबै ठाउँमा एकै खालको गठबन्धन भने छैन । मुलुकका छ राष्ट्रियसहितका दल तथा स्वतन्त्र उम्मेदवारसमेतले चुनावी प्रचार अभियानलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ दलमध्ये ६६ दलले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए । स्थानीय तह निर्वाचनमा एक लाख ५३ हजार २२० उम्मेदवार छन् । 

यहाँसम्म पुग्यो निर्वाचनको तयारी

निर्वाचन आयोगका अनुसार ६५ जिल्लामा एक करोड ३२ लाख बढी मतपत्र ढुवानी भइसकेका छन् । निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अयाोगले यसअघि नै सार्वजनिक गरिसकेको छ । मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा यसपटक एक करोड, ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । मुलुकका छ हजार ७४३ वडामा पनि सँगसँगै निर्वाचन हुन्छ । सरकारले दुई हजार ९४६ अति संवेदनशील, चार हजार ४२३ संवेदनशील र तीन हजार ३८७ मतदानस्थल कम संवेदनशील भनेर वर्गीकरण गरी सोहीअनुसार सुरक्षा व्यवस्था मिलाएको छ । निर्वाचनका लागि एक लाख ७० हजार सुरक्षाकर्मी तथा एक लाख म्यादी प्रहरी खटाइएको छ । 
निर्वाचन आयोगले आचारसंहिता प्रतिकूल गतिविधि गर्ने उम्मेदवारको उम्मेदवारी रद्द हुनसक्नेसम्मको चेतावनी दिइसकेको छ । विभिन्न क्षेत्रमा आचारसंहिता विपरीतका गतिविधि दलबाट भइरहेको भन्दै आयोगले कतिपय उम्मेदवार र तिनका उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ ।–रासस 
 

प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार