समृद्धि र विकासका मुद्दासहित घरदैलोमा उम्मेदवार

मंगलबार, वैशाख २०, २०७९

गण्डकी, २० वैशाख । चुनावको मिति नजिकिँदै गर्दा यतिखेर समृद्धि र विकासका मुद्दासहित उम्मेदवारहरू घरदैलोमा व्यस्त छन् । भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकामा छोटो समयमा घरदैलोमा पुगेर मतदातासँग भेट्ने विषय उम्मेदवारका लागि चुनौतीपूर्ण छ । महानगरपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेदवारका लागि कुना कुनाका वस्तीमा पुगेर मतदातासँग भोट माग्नुपर्ने बाध्यता र नजिकिँदै गरेको निर्वाचनको मितिका कारण यतिखेर महानगरका ग्रामीण वस्तीहरूमा चुनावी रौनकता छाएको छ । पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट प्रमुख पदमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदमा नेपाली कांग्रेसका कोपिला रानाभाट उम्मेदवार बनेकी छन् । महानगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा कृष्ण थापा र उपप्रमुख पदमा मञ्जुदेवी गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख प्रतिस्पर्धा गठबन्धन र नेकपा एमालेबीच हुने अनुमान गरिएको महानगरपालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवार प्रमुख, उपप्रमुख पदसहित ३३ वटै वडाका वडा अध्यक्ष तथा सदस्यमा प्रतिस्पर्धा गर्दै छन् । 
पोखराको समृद्धि र विकासका योजनासहित आफ्नो घोषणापत्र तयार गरी निर्वाचनमा होमिएका दलहरूका चुनाव जित्ने आ आफ्ना तर्क छन् । पाँच दलीय गठबन्धनले महानगरस्तरीय पूर्वाधार विकासका विभिन्न योजना, पोखरा चक्रपथ, सौन्दर्यीकरणदेखि सुशासन र समृद्धिका मुद्दालाई अघि सारेको छ ।
‘समुन्नत पोखराको आधार ः सबल अर्थतन्त्र र पूर्वाधार’ नाराका साथ अघि सारिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायत विषयलाई प्राथमिकतामा राखिएको प्रमुख पदका उम्मेदवार आचार्यले बताउनुभयो । पोखराको समुन्नतिका आधार विन्दुसहित आफूहरू मतदाता माझ पुगेको आचार्यको भनाइ छ । नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार थापा नेपालमा बहुदलीय व्यवस्था स्थापनापछि बितेको पाँच वर्षमा सबैभन्दा धेरै विकास र पूर्वाधार निर्माण भएको बताउँछन् । प्रमुख पदमा निर्वाचित भएसँगै समृद्ध पोखरा र जनतालाई सुशासनको अनुभूति हुने गरी पाँच वर्ष पूर्णरुपमा खटेर काम गर्ने प्रतिबद्धतासहित आँफूहरू मतदाता माझ पुगेको उनको भनाइ छ । 
अटेरी अभियानका तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार गनेस पौडेल मतदाताको घरघरमा नभै सार्वजनिक चोक तथा वस्तीमा पुगी आफूहरू मत माग्ने योजनामा रहेको बताउँछन् । भोट माग्नका लागि व्यक्तिका घरघरमा पसेर उनीहरूलाई दुःख नदिने आफूहरूको सोच रहेको बताउँदै उनले सार्वजनिक चोकबाट नै आफ्ना प्रतिबद्धता व्यक्त गर्ने बताए । 
‘पोखरा लक्ष्य २०७९ कार्ययोजना’ नाम दिइएको अटेरी अभियानको घोषणपत्रमा पर्यटन, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य मुद्दा बनाइएको छ । ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ भन्ने नाराका साथ अघि बढेको अभियानले असम्भव झुटा आश्वासन नबाड्ने घोषणापत्रमा उल्लेख गरेको छ ।
‘मेरो पोखरा’ मोबाइल एप सार्वजनिक गरेर महानगरका सबै सुविधा घरमै बसेर लिनसक्ने व्यवस्था गर्ने लगायतका विषयलाई आफूहरूले प्राथमिकतामा राखेको उम्मेदवार पौडेलले जानकारी दिए । चुनावी घोषणपत्रका अतिरिक्त उम्मेदवारहरूले घरदैलोका क्रममा स्थान विशेषका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । महानगरका शहरी क्षेत्रमा खानेपानी, ढल, सरसफाइलगायत विषयलाई प्राथमिकता दिएका उम्मेदवार महानगरका कुना कुनाका ग्रामीण बस्तीमा भने महानगरको अनुभूति हुने किसिमका विकास योजना प्राथमिकतामा रहेको बताउँदै आएका छन् ।–रासस

आचारसंहिता पालनालाई सर्वपक्षीय बैठक 
स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढ्दै गएपछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको आव्हनमा सर्वपक्षीय बैठक आज हेटौँडामा सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता पालना नभएको सम्बन्धमा परेको उजुरी माथि सरोकारवालाबीच छलफल भएको थियो । बैठकमा सहभागी सबै दलका सहभागी प्रतिनिधिले आचारसंहिता पूर्णरुपले पालना गर्ने प्रतिबद्धता व्यक्त गरे । 
आचारसंहिता विपरीत झण्डा, ब्यानर बोकेर लाउडस्पिकरबाट गीत प्रचारप्रसार सामग्री बजाउँदै हिँडेको पाइएकाले कारबाहीको माग गरिएको छ । बैठकमा सहभागी नेपाल विवेकशील पार्टीका हेटौँडा १७ नम्बरका वडाध्यक्षका उम्मेदवार कृष्णदेव भण्डारीले ठूला दलले नै आचारसंहिता विपरीत काम गरेको आरोप लगाए । 
शिक्षक तथा कर्मचारीले आचारसंहिताको बेवस्ता गरी प्रचारप्रसार गरी हिँडेको र सामाजिक सञ्जालमा उम्मेदवारको पक्षमा भोट माग्ने गरेको र मतदातालाई प्रभावित पार्ने काम गरेको उजुरी परेकाले प्रमाणका आधारमा विभागीय कारबाही अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । यसैबीच मकवानपुरका सहायक निर्वाचन अधिकृत सागर शर्माले हेटौँडाका विभिन्न क्षेत्रका कर्मचारी निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलको चुनावी अभियानमा हिँडेको उजुरी परेकाले उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको जानकरी दिए । 
उनीहरुको जवाफ प्राप्त भएपछि जिल्ला निर्वाचन अनुगमन समितिमा कारवहीका लागि पठाइने उनले भने ।–रासस
 

प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार