देवघाट गाउँपालिकाले प्रत्येक वडामा नमूना टोल बनाउने 

मंगलबार, चैत ३, २०७७

दमौली । तनहुँको देवघाट गाउँपालिकाले प्रत्येक वडामा नमूना टोल छनोट गरेको छ । पाँच वटा वडा रहेको गाउँपालिकाले प्रत्येक वडामा एक÷एक नमूना टोल छनोट गरेको हो ।  शिक्षा, स्वास्थ्य, सरसफाइ र वातावरणलगायत ६१ वटा सूचकलाई आधार मानेर नमूना टोल छनोट गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए । देवघाट गाउँपालिका–१ को वर्षाखोला, वडा नं २ को करादीप, वडा नं ३ को लुङ्ग्रीङ, वडा नं ४ को आमडाँडा र वडा नं ५ को रातमाटे सुन्दर टोललाई नमूना टोलका रुपमा छनोट गरिएको छ । शिक्षा, स्वास्थ्य वातावरण र सरसफाइका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने टोललाई नमूना टोल घोषणा गर्ने नीति लिइएको अध्यक्ष थापाले बताए ।  सबै घरमा खानेपानीको धारा जडान, सबै घरधुरीमा मदिराको व्यवस्थापन, प्रत्येक घरका विद्यालय जाने उमेरका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको लगायतलाई सूचकका रुपमा लिइएको छ ।  मदिरा व्यवस्थापन, पूर्ण सरसफाइ, वातावरण तथा बालमैत्री घर, सबै घरमा व्यक्तिगत घटना दर्ता अनिवार्य, प्रत्येक घरमा करेसाबारी, सबै घरमा गमलामा फूल रोपण, गाउँमा हुने विवाह, ब्रतबन्ध जस्ता चाडपर्वको भोजभतेर एकै दिनमा टुङ्ग्याउने कार्य तथा विकास निर्माणमा जनश्रमदानको अनिवार्य सहभागितालाई पनि नमूना टोलको सूचक तय गरिएको छ । यसअघि गाउँपालिकाले पाहुनालाई मदिराले नभई चिया र दूधले स्वागत गर्ने अभियान चलाएको थियो । त्यसको कार्यान्वयनलाई पनि नमूना टोल छनोटका आधार बनाइएको उनले बताए । नमूना टोल छनोट भएका टोलमा अन्य टोलबाट भ्रमण गराइने तथा विकासका कामले पनि अन्य भन्दा प्राथमिकता दिइनेछ । राटामाटे सुन्दरबस्ती नमूना टोलका अध्यक्ष डा सुरेन्द्र श्रेष्ठले गाउँपालिकाले तय गरेको सबै सूचक आफूहरुको टोलले पूरा गरेको बताए ।–रासस

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार