बम विस्फोटपछि लहान मालपोत कार्यालय ठप्प

मंगलबार, चैत ३, २०७७

लहान । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले गराएको बम विस्फोटका कारण सिरहाको लहानस्थित मालपोत कार्यालय ठप्प भएको छ । कार्यालय ठप्प हुँदा कामकाज प्रभावित भएको छ भने त्रासका कारण कर्मचारी कार्यालय पुग्न डराइरहेका छन् । 
आइतबार दिउँसो बम विस्फोट हुँदा कार्यालयका एक कर्मचारीसहित आठ  घाइते भएका थिए भने कार्यालयको पहिलो तल्लामा रहेको तीन काउन्टर क्षतिग्रस्त भएको कार्यालय प्रमुख दीपेन्द्र चौधरीले जानकारी दिए । प्रहरीसँग समन्वय गरी कार्यालय भवनको सरसफाइ गराइरहेको उनले बताए ।  बम विस्फोटपछि लागेको आगोले कार्यालयको महत्वपूर्ण कागजात जलेर नष्ट भएकाले कार्यालय सञ्चालनबारे तत्कालै केही भन्न नसकिने प्रमुख चौधरीको भनाइ छ । बम विस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ । यसैबीच मालपोत कार्यालयमा बम विस्फोट भएपछि स्थानीय प्रशासनले जिल्लास्थित सबै कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिइएको छ । सिरहाका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले सूचना जारी गर्दै आ–आफ्नो कार्यालयको सुरक्षा व्यवस्था कडा बनाउन कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।
कार्यालयभित्र र बाहिर कुनै शङ्कास्पद बस्नु रहे नरहेको बारम्बार निरीक्षण गर्ने गराउने, सेवा लिन आउने सेवाग्राहीको व्यवहारलाई सुक्ष्म निगरानीका लागि सिसी क्यामेरा जडान गर्ने, सेवाग्राही कार्यालय प्रवेश गर्नु पूर्व ल्याएका ब्याग, झोला नियमित जाँच गर्ने व्यवस्था मिलाउने कार्य गर्न निर्देशन दिइएको छ ।यसैगरी सेवाग्राहीको व्यवहार शङ्कास्पद देखिए वा साथमा त्यस्ता अन्य कुनै वस्तु रहेको शङ्का लागेमा तुरुन्तै जाँच गर्ने वा नजिकको सुरक्षा निकायमा सूचना दिई सहयोग गर्ने, कार्यालयमा भरपर्दो सुरक्षा व्यवस्थाका लागि नियमित पालो पहराको व्यवस्था गर्ने, पालो पहरा बस्ने व्यक्तिको सम्पर्क नम्बर नजिकको सुरक्षा निकायलाई उपलब्ध गराउने, सेवाग्राहीको विवरण राख्ने व्यवस्था मिलाउन भनिएको छ ।

बिस्फोटको आरोपमा एक पक्राउ 
कर्मचारीसहित आठ घाइते हुने गरी सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा सोमबार साँझ सशस्त्र प्रहरीको टोली एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेका छन् । मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामेराको आधारमा मण्डलकै संलग्नता रहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बेश क्याम्प सुखीपुरबाट खटिएको टोलीले सुखीपुर नगरपालिका–२ विद्यानगरबाट मण्डललाई पक्राउ गरिएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।  बिस्फोटन गराउने  जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का कार्यकता रहेको प्रहरीले जनाएको छ । आइतबार दिउसो गराईको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित आठ जना घाइते भएका थिए ।–रासस
 

प्रकाशित मिति: मंगलबार, चैत ३, २०७७  ०५:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार