माओवादी केन्द्र बैठकमा नेता–कार्यकर्ताको साथको आकलन

मन्त्रीलाई फिर्ता हुन निर्देशन, वादलसहितका नेतासँग स्पष्टीकरण
सोमबार, चैत २, २०७७


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) को केन्द्रीय कमिटीले स्थायी कमिटीको प्रस्तावअनुसार मन्त्री पदमा रहेका नेतालाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । बैठकले पार्टीका केन्द्रीय कमिटीलगायत विभिन्न कमिटीमा रहेका सदस्य अर्काे पार्टीमा रहेको भन्ने सार्वजनिक सूचना प्राप्त भएकाले माआवादी केन्द्रमा रहेको हो होइन, आफ्नो पार्टी कुन हो स्पष्ट गर्न स्पष्टीकरण माग्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।  बैठकपछि पत्रकारसँग प्रवक्ता श्रेष्ठले विभिन्न राजनीतिक दलसँग वार्ता र छलफललाई भने निरन्तरता दिने जानकारी दिए ।  बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा मन्त्रीबाट फिर्ता नभए अनुशासनको कारवाही गर्ने विषयमा समेत छलफल भएको छ । बैठक सोमबार पुनः बस्नेछ । बैठकको शुरुआतमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक परिस्थिति कम्युनिष्ट पार्टीमाथि भएको आक्रमणको स्थिति, पार्टी र कम्युनिष्ट आन्दोलनमा देखापरेको चुनौती र भावी कार्ययोजनाबारे समीक्षात्मक जानकारी गराएका थिए । 

बैठकमा पार्टी केन्द्रीय कार्यालयका तर्फबाट रिपोर्टिङ गर्दै उनले पार्टी र नेपाली कम्युनिष्ट आन्दोलनको विषयमा ब्रिफिङ गरेका थिए ।  उनले पार्टीलाई क्रान्तिकारी दिशातर्फ लैजाने विषयमा बैठकमा आफ्नो भनाइ प्रस्तुत गरेका थिए । बैठकमा पार्टीको नाम फेर्ने विषयसमेत उठेको छ ।  बैठकले वर्तमान परिस्थिति पार्टीको अवस्था र नेपाली कम्युनिष्ट अन्दोलनबारे केन्द्रीय कार्यालयबाट रिपोर्टिङ गर्ने, सङ्गठानात्मक अवस्था र समसामयिक परिस्थितिबारे सबै प्रदेशबाट जानकारी गराउने, केन्द्रीय कमिटीका सबै सदस्यले वर्तमान सन्दर्भमा पार्टी र आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा सुझावात्मक टिप्पणी गर्ने, सङ्गठनात्मक काम र पार्टी विधान संशोधन तथा पार्टी अनुशासन, राष्ट्रिय भेला कम्युनिष्ट आन्दोलन एकीकरणका विषयका कार्यसूची पास गरेको छ ।  कार्यसूचीअनुसार आजको बैठकमा प्रदेशबाट नेताहरूले सङ्गठनको स्थिति र वर्तमान अवस्थाका बारेमा रिपोर्टिङ गरेका थिए ।  बैठकमा प्रदेश नं १ र २ बाट सह–इन्चार्जद्वय सावित्रीकुमार काफ्ले र विश्वनाथ शाह, वाग्मती प्रदेशबाट अध्यक्ष नारायण दाहाल, गण्डकी प्रदेशबाट अध्यक्ष हितराज पाण्डे, लुम्बिनी प्रदेशबाट अध्यक्ष ओनसरी घर्ती, कर्णाली प्रदेशबाट सचिव मायाप्रसाद काफ्ले र सुदूरपश्चिम प्रदेशबाट सचिव लेखबहादुर चौधरीले वर्तमान अवस्थाका बारेमा रिपार्टिङ गरेका थिए ।  बैठकमा उपत्यका विशेष कमिटीका इन्चार्ज लीलामणि पोखरेल, प्रदेश सम्पर्क समन्वय कमिटीबाट अध्यक्ष प्रल्हाद बुढाथोकी र प्रवास समन्वय कमिटीबाट अध्यक्ष युवराज चौलागार्इंले सङ्गठनको स्थिति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । 
बैठकमा सहभागी केन्द्रीय कमिटी सदस्य ईश्वरीप्रसाद भट्टराईले पार्टी अब नयाँ ढङ्गबाट अघि बढाउनेमा सबै नेताहरू दृढ रहेको र सोही अनुसार केन्द्रीय कमिटी बैठक शुरु भएको जानकारी दिए ।  उनका अनुसर आइतबार एजेन्डामा मात्रै प्रवेश गरेकाले सोमबारदेखि मिहीनरुपमा छलफल हुनेछ । भट्टराईले भने, ‘सङ्गठनलाई सुदृढ बनाउने जनतामा जानुपर्छ भनेर अब नेताहरूले सोच्नुपर्छ, दलाल प्रवृत्तिलाई छाडेर बल प्रयोगका कुरामा जानुपर्छ ।’ सोमबार ११ बजे पुनः बस्ने बैठकमा केन्द्रीय कमिटीका सदस्यले रिपोर्टिङ गर्ने कार्यक्रम छ ।

कति गए एमालेमा ?

माओवादी केन्द्रले पूर्ववत पार्टीमा फर्किंदा संगठनमा भएको क्षतिबारे प्रारम्भिक रिपोर्ट तयार पारेको छ । आइतबारको बैठकमा नेताहरुले गरेको रिपोर्टिङअनुसार लुम्बिनी र प्रदेश २ मा बढी क्षति भएको देखिएको छ । बैठकमा नेताहरुले नेता बलियो हुने, तर संस्थागत संरचना लथालिंग हुने हालको अवस्था सुधार गर्नुपर्ने सुझाव दिएका छन् । प्रदेश १ का सहइन्चार्ज सावित्रीकुमार काफ्लेका अनुसार दुई जना केन्द्रीय सदस्य पासाङ शेर्पा र टंक आङबुहाङ एमालेतिर लागेका छन् । आङबुहाङ प्रदेशसभा सदस्य हुन् । ‘प्रदेश कमिटीका दुई जना (धनकुटा र सोलुखुम्बु), जिल्लाका १०–१२ जना यता लाग्नु भएको छ’ काफ्लले केन्द्रीय कमिटी बैठकमा भने, ‘जिल्ला कमिटीमा हाम्रोतिरबाट जो जो अध्यक्ष र सचिव हुनुहुन्थ्यो, उहाँहरु हामीसँगै हुनुहुन्छ ।’ प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहका अनुसार प्रदेश २ बाट केन्द्रीय सदस्य भएकामध्ये तीन जना एमालेतिर गएका छन् । प्रभु साह, ज्वालाकुमारी साह र टेकबहादुर बलमपाकी एमालेतिर गएका हुन् । २१५ सदस्यीय प्रदेश कमिटीका माओवादीका १०७ जना थिए । तीमध्ये १७ जना एमालेमा गएका छन् । यद्यपि ४–५ जना अलमलकै अवस्थामा रहेको साहले बताए । प्रदेशसभा सदस्यमध्ये तीन जना कुन्दन कुशवाह, रामचन्द्र मण्डल र मोहम्मद समिर एमालेमा गएका थिए ।  अर्का प्रदेशसभा सदस्य दिलिप साह एमाले नगए पनि माओवादी केन्द्रमा सक्रिय  छैनन् । रौतहटका दुई र धनुषाका एक मेयर एमालेमा गएका छन् । ‘कार्यकर्ता तहमा धेरै यताउता भएको छैन । यद्यपि नेकपा विभाजनले आमरुपमा निराशा छ, केहीलाई पहिल्यै एकता ठीक लागेको थिएन, उनीहरु खुसी छन’ उनले भने । प्रदेश ३ का अध्यक्ष नारायण दाहालका अनुसार केही केन्द्रीय सदस्य एमालेमा गएको देखिएको छ ।  गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले प्रदेश सभाका कोही पनि एमालेमा नगएको जानकारी दिए । जिल्ला अध्यक्षमध्ये स्याङ्जाका पारस गैरे एमालेमा गएका छन् । लुम्बिनी प्रदेशकी अध्यक्ष ओनसरी घर्ती मगरले प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी र राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का एमालेतिर लागेको बताइन् । रायमाझी माओवादी केन्द्र र नेकपामा स्थायी कमिटी सदस्य थिए । उनीसँगै अर्का स्थायी कमिटी सदस्य मणि थापा पनि एमालेतिर छन् ।
केन्द्रीय सदस्यहरु गिरिधारी न्यौपाने, दधिराम न्यौपाने, नविन रोका र दिनेश पन्थी एमालेमा लागेका छन् । दधिराम र दिनेश प्रदेशसभा सदस्य पनि हुन् । कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्माले प्रदेशसभा सदस्य धर्मराज रेग्मी एमालेतिर गएको जानकारी दिए । शर्माले ठम्बर विष्टले आफू माओवादी केन्द्रमै रहेको प्रष्ट पारेको भन्दै अन्यत्रका सबै पार्टीमै संगठित रहेको बताएका थिए ।यस्तै सुदूरपश्चिमका सचिव नेपबहादुर चौधरीले साविक नेकपामा रहेका १४ केन्द्रीय सदस्यमध्ये लेखराज भट्ट एमालेतिर गए पनि बाँकी १३ जना माओवादी केन्द्रमा रहेको बताए । प्रदेशसभा सदस्य झपड बोहोरा पनि उतै लागेका छन् । जिल्ला अध्यक्षमध्ये कञ्चनपुरमा अध्यक्षमा भने अलमल देखिएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार