हरेक टोलमा ‘बाल स्याहार केन्द्र’

नेकपा एसको चुनावी घाेषणापत्र
मंगलबार, वैशाख ६, २०७९

काठमाडौं, ६ वैशाख । नेकपा एस (एकीकृत समाजवादी) पार्टीले बालबालिकाका लागि विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको छ ।  मंगलबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा नेकपा एसले उक्त प्रतिबद्धता जनाएको हो ।  ‘हरेक टोलमा बालउद्यान निर्माण गरिने छ । यस्ता उद्यानमा बालबालिका खेल्ने, रमाउने साधनहरूको व्यवस्था गरिने छ,’ घोषणापत्रमा नेकपा एसले भनेको छ, ‘बालबालिका समाजको उत्तरदायित्व भन्ने मर्मलाई हृदयंगम गर्दै हरेक टोलमा ‘बाल स्याहार केन्द्र’ स्थापना गरिनेछ ।’

काममा जाने श्रमजीवि अभिभावकलाई बालबालिका रेखदेख गर्ने सामाजिक केन्द्रका रुपमा स्थानीय सरकारले बाल स्याहार केन्द्र संचालन गर्ने समेत घोषणापत्रमा उल्लेख छ । बालबालिकाहरूलाई सानै उमेरदेखि साहित्य र कलाप्रति आकर्षित गर्नका लागि हरेक वार्डस्तरमा स्थानीय विद्यालयहरूलाई अग्रसर गराई वार्षिकरूपमा बालसाहित्य तथा कला मेलाको आयोजना गर्ने प्रतिवद्धता पनि नेकपा एसले गरेको छ ।  ‘बालबालिकाहरू आफ्नो घर र समाजमा सुरक्षित रहुन् भन्ने उद्देश्यले आवश्यक अनुगमनको व्यवस्था गरिने छ । यसका लागि स्थानीय प्रहरी कार्यालयसँग आवश्यक समन्वय गरिने छ,’ घोषणापत्रमा लेखिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ६, २०७९  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार