सत्ता गठबन्धनबीच जुटेन सहमति, भोली फेरि छलफल हुने

सोमबार, वैशाख ५, २०७९

काठमाडौं, ५ वैशाख : सत्तारुढ गठबन्धनका पाँच दलबीचको बैठक निश्कर्ष बिनै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेपछि मंगलबार पुन: बस्ने गरी बैठक सारिएको छ ।

देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंग्याउन सोमबार बिहान र सोमबार अपराहन गरी दुईपटक बैठक बसेको थियो । तर, दुबै बैठकबाट सहमति जुट्न सकेन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए ।

सहमति नजिक छौं, भोलि कुरा मिल्छ : प्रवक्ता कार्की

सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् । सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् । 

गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन् ।  उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । 

आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ- आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार