एकीकृत समाजवादीले मेयर नछोडेपछि कांग्रेस कास्कीले तोड्यो गठबन्धन

सोमबार, वैशाख ५, २०७९

पोखरा, ५ वैशाख  : एकीकृत समाजवादीले पोखराको मेयर पदमा दाबी नछोडेपछि कास्की कांग्रेसले एससँगको गठबन्धन तोड्ने निर्णय गरेको छ । कांग्रेसका दुई जिल्ला सचिवले विज्ञप्ति निकालेर एकीकृत समाजवादीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने र उसलाई गठबन्धनमा सामेल नगराउने जानकारी दिएका हुन् ।

उनीहरूले केन्द्रीय गठबन्धनबाटै गठबन्धन गर्न नसके मित्रवत् प्रतिस्पर्धा गर्न निर्देशन पठाएको भन्दै कास्कीमा एससँग गठबन्धन नगर्ने बताएका हुन् ।

‘गठवन्धनमा रहेका दलहरूसँग पटक पटकको लामो छलफल र बहसका साथै सँगै तालमेल गरेर जाने सन्दर्भमा भरपुर प्रयत्न गरियो । जिल्ला संयन्त्रवाट निर्वाचनका लागि तालमेल गर्ने सम्बन्धमा नेकपा एकीकृत समाजवादीसँग कास्की जिल्लामा व्यापक छलफल हुँदा पनि एसको अस्वाभाविक दाबीका कारणले निष्कर्ष निस्कन सकेन,’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टी मातहातका निकायहरूको राय सुझावलाई समेत मध्यनजर गरी अन्य गठबन्धनका दलहरुसँग तालमेलका लागि वार्ता र सम्वाद अगाडि बढाउने र एकीकृत समाजवादीसँग स्थानीय निर्वाचनमा मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धासहित जाने निर्णय गरियो ।’

सचिव भानुभक्त ढकाल र देवेन्द्र रानाभाटले संयुक्त विज्ञप्ति जारी गरेर पोखरा महानगर पालिकाको प्रमुख (मेयर) का सम्बन्धमा सञ्चार माध्यममा आएको हल्लाका पछाडि नलाग्न पार्टीपंक्तिलाई आह्वान गरेका छन् । कांग्रेसले पोखराको मेयर आफैंले पाउनुपर्ने अडान राख्दै आएको छ । यसकै लागि जिल्ला नेतृत्वले केन्द्रीय नेताहरूसँग समेत भेटघाट गरेर फर्किएका छन् ।

कांग्रेस कास्की सभापति बराल भन्छन्. 'गठबन्धन टुटेको छैन, म बैठकमै छु'

नेकपा एकीकृत समाजवादीले अस्वाभाविक माग राखेको भन्दै कांग्रेस कास्कीका दुई सचिवले विज्ञप्ति निकालेर गठबन्धन तोडेको घोषणा गरेका छन् । तर, सभापति किशोरदत्त बराल भने गठबन्धन कायम रहेको बताउँछन् । उनी अहिले पनि गठबन्धनकै बैठकमा छन् ।

‘म बैठकमै छु । गठबन्धन टुटेको कुरा साँचो होइन,’ उनले भने, ‘सचिवहरूले किन त्यसो गर्नुभयो मैले बुझ्न पाएको छैन । विज्ञप्ति निकाल्न मसँग सल्लाह लिनुभएको होइन ।’

अहिले जिल्लाका पालिकामा बाँडफाँट टुंग्याउन गठबन्धनको बैठक होटल दीपसागरमा बसिरहेको छ । एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्यले विज्ञप्ति गलत भएको बताए । कांग्रेसकै सभापतिको नेतृत्वमा बैठक बसिरहेको बेला बाहिरबाट आएका विज्ञप्तिले खासै असर नगर्ने उनको भनाइ छ ।

‘गठबन्धनको बैठक चलिरहेको छ । सभापतिज्यू यहीँ हामीसँगै हुनुहुन्छ,’ उनले भने, ‘गठबन्धन टुटेको भए बैठक किन चलिरहन्थ्यो ? टुटेको छैन । यो कायम रहन्छ ।’

एकीकृत समाजवादीले पोखराको मेयरमा दाबी गरेको छ । तर, कांग्रेसले भने जनमत नै नभएको पार्टीले मेयर माग्दा हारिने भन्दै कांग्रेसले नै मेयर पाउनुपर्ने अडान राखेको छ । दुई सचिवले एकीकृत समाजवादीको माग अस्वाभाविक भएकोले उसँग गठबन्धन नहुने विज्ञप्तिसहित जिल्लाका नेता कार्यकर्तालाई सोहीअनुसार काम अघि बढाउन निर्देशन दिएका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार