मोहन वैद्यको पार्टीबाट विद्रोह गरेको नागेन्द्र राई समूह माओवादी केन्द्रमा समाहित

सोमबार, वैशाख ५, २०७९

काठमाडौं, ५ वैशाख : मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीबाट विद्रोह गरेका नागेन्द्र राई समूह नेकपा माओवादी केन्द्रमा समाहित भएको छ । राई समूहसहित नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी पनि सोमबार माओवादी केन्द्रमा समाहित भएका हुन् । 

माओवादी केन्द्रका वार्ता संयोजक कृष्णबहादुर महरा, नेपाल लोकतान्त्रिक जनता कांग्रेसका अध्यक्ष जितबहादुर चौधरी र नेकपा क्रान्तिकारी माओवादीका पोलिट्ब्युरो सदस्य नागेन्द्र राईले सोमबार संयुक्त रुपमा जारी विज्ञप्ति जारी गरेर पटक पटकको छलफल र बहस पश्चात सोमबारदेखि माओवादी केन्द्रमा राई समूह र  नेपाल लोकतान्त्रिक जनता कांग्रेस समाहित भएको जानकारी दिएको हो । 

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र नेपाल लोकतान्त्रिक जनता कांग्रेस तीन बुँदे सहमति गर्दै माओवादी केन्द्रमा समाहित भएका हुन् । 

संयुक्त विज्ञप्ति 

आज मिति २०७९ साल वैशाख ५ गतेका दिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को वार्ता समिति र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) बाट विद्रोह गरी आउनु भएका कमरेड नागेन्द्र राई समूह, नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी बीच पटक पटक छलफल र बहस पश्चात हामी सबै पक्ष निम्न अनुसारको सहमति गर्दै आजैका मितिदेखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समायोजन भएको घोषणा गर्दछौं । साथै नेपलाको एक मात्र क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रमा ध्रुवीकरण भएको घोषणा गर्दैछौं ।

१. मार्क्सवाद–लेनिनवाद–माओवादप्रति प्रतिबद्ध रहदै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र को विचार, राजनीति, कार्यदिशा र सांगठनिक सिद्धान्तप्रति प्रतिबद्धता जाहेर गर्दछौँ ।

२. नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी)बाट विद्रोह गरी नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड नागेन्द्र राईलाई पार्टीको केन्द्रीय सदस्य र बाँकी ३ जना कमरेड कृष्ण गुरुङ, कमरेड तिलबहादुर पुन र कमरेड कुमार बोगटीलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी दिने र बाकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचन पछाडि उचित जिम्मेवारी आपसी छलफल र सहमतिको आधारमा तय गर्ने निर्णय गरियो ।

३. नेपाल लोकतान्त्रिक जनता कांग्रेस पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र मा समाहित हुनु भएका कमरेड जीतबहादुर चौधरी र कमरेड जिमी लामालाई पार्टी केन्द्रीय समितिको बैकल्पिक केन्द्रीय समितिको सदस्यको जिम्मेवारी दिने र बाँकी सबै कमरेडहरुको जिम्मेवारी स्थानीय निर्वाचनपछि उचित जिम्मेवारी आपसी छलफल र सहमतिका आधारमा ढुंगो लगाउने निर्णय गरियो ।

 

माओवादी केन्द्र पुनर्गठन अभियान्ता आनन्दराम फुयाल माओवादी केन्द्रमै प्रवेश  

गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र) पुनर्गठन अभियाका नेता आनन्दराम फुयाल नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 

उनले समाजवादी क्रान्तिको कार्यभार माओवादीमा आबद्ध भएर पूरा गर्ने प्रतिबद्धता जनाए । माओवादी केन्द्रलाई जनताबीचमा लोकप्रिय दल बनाउने उनको प्रतिवद्धता छ । 

नेता फुयाल नेकपा एमाले र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता हुँदा असन्तुष्ट भएका थिए । त्यसपछि किराँती नेतृत्वमा रहेर माओवादी केन्द्र पुनर्गठन अभियान सञ्चालन गरेका थिए । 

माओवादीमा प्रवेश भएका नेताहरूलाई उचित जिम्मेवारी  दिने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार