उनको होस्टायल बयान

सोमबार, वैशाख ५, २०७९

बिहे गर्छु भनी झुठो आश्वासन दिएर पटक पटक बलात्कार गरेको अभियोग लगाई मोडल-अभिनेता पल (पूर्णविक्रम) शाह विरुद्ध तनहुँ र पूर्वी नवलपुरका दुइटा जिल्ला अदालतमा मुद्दा दायर गरेकी कानूनत: वालिग भइनसकेकी गायिकाले अहिले आएर फिरादपत्रमा उल्लेख गरिएको दावीभन्दा विपरीत बयान दिएकी छिन् । उनले तनहुँ जिल्ला अदालतमा दिएको होस्टायल बयान अनुसार “पलले उनीमाथि बलात्कार गरेका छैनन् । आफूले आफ्ना पिताको दवाबमा त्यतिबेलाका आफ्ना प्रेमी शाह विरुद्ध त्यो मुद्दा दायर गरेको हो । उनका पिताले पनि पल-समीक्षाका बीचको अन्तरङ्ग सम्बन्धलाई लिएर सामाजिक सञ्जाल लगायत सञ्चार माध्यमहरूमा आएका गलत सूचना र हल्लाका कारण उद्विग्न भएर पलविरुद्ध मुद्दा दायर गर्न उक्साएका हुन् ।” यी गायिकाले अदालतमा दर्ता गराएको यो वकपत्रले केही समय अगाडि सुदूर अछाम जिल्लाकी एक युवतीले आफूमाथि यातनाप्रद शारीरिक हिंसाका साथ बलात्कार गर्ने प्रतिवादीलाई निर्दोष भनी अदालतमा दिएको बयान र त्यस झुठो बयानबापत उनलाई अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीद्वारा दिइएको ३ वर्ष ६ महिना कैद सजायको सम्झना गराएको छ ।

 

नेपालमा बलात्कार पीडिताहरूले अदालतमा पुगेपछि बयान फेर्नु सामान्यजस्तै भएको छ । त्यसैले बलात्कारको त्यस बहुचर्चित मुद्दाकी फिरादी नावालिग गायिकाले अदालतमा दिएको त्यो आत्मघाती बयानलाई अनपेक्षित होइन भन्न सकिन्छ । बलात्कारसम्बन्धी मुद्दा र त्यससँग जोडिएर आउँने कानूनी दाउपेचसँग भलिभाँती परिचितहरूका लागि पनि पीडिताले लिएको त्यो ‘यु टर्न’ हाम्रा अदालतहरूका इजलासमा दोहोरिइरहने सामान्य घटना मात्र हो । त्यस चर्चित मुद्दासँग शुरूदेखि नै संलग्न हुँदै आएका प्रहरी अधिकारीहरू र पीडिताका पक्षमा पैरवी गर्दै आएका वकिलहरूले पनि यी गायिकाको होस्टायल बयानलाई कुनै अनहोनी वा धेरै नौलो मानेका छैनन् । पल शाह बलात्कारको अभियोगमा गिरफ्तार भएदेखि यता ती सुटेड बूटेड अभियुक्तका पक्षमा लामबद्ध भएको परपीडकहरूको जत्थाबाट पीडिता र उनको परिवारमाथि भीषण आयतनको दवाब पारिँदै आएको थियो होला भन्न ज्योतिष विद्या सिकिरहनु पर्दैन । त्यो घृणास्पद नग्न सत्यको प्रकाशमा हेर्दा यी किशोरी गायिका आफ्नो सुरुवाती बयानमा लगभग २ महिनासम्म  टिकेको घटनालाई पो अद्‍भूत मान्नू पर्दछ भन्नेहरू पनि छन् । बलात्कारको अभियोग लागेको सेलिब्रेटीको प्रतिरक्षामा कट्टु र पेटिकोटसम्म फुकालेर दगुरिरहेको अमानुषिक जत्थाका अगाडि एउटी कमजोर नावालिग किशोरी कति दिन साबुत टिकिरहन सक्थिन् र?

पीडिता स्वयंले पलविरुद्ध मुद्दा दायर गर्दा  गरेको बलात्कारको दावी झुठो हो भन्दै आफूलाई पीडक र प्रतिवादी पल शाहलाई पीडित बनाइदिएपछि यो बहुचर्चित मुद्दाले कस्तो मोड लिन्छ भन्न नसकिने भएको छ । वादीको होस्टायल बयानले बलात् करणीको अभियोगमा पक्राउ परी पुर्पक्षका लागि गत वर्ष फागुन १५ गतेदेखि तनहुँ-दमौली कारागारमा थुनामा रहेका प्रतिवादी शाह र उनका अन्धभक्तहरू भने उत्साहित भएका छन् । उनीहरूको मनमा सो मुद्दाको फैसला आफ्नो पक्षमा हुन्छ भन्ने आशाको अंकुर पलाएको हुनु पर्दछ । उनीहरूको त्यो प्रत्याशा पलका पक्षबाट पैरवी गरिरहेका वकिल कमलामोहन वाग्लेले गायिकाको होस्टायल बयान अभिलेखमा चढेपछि दिएको बयानमा प्रतिध्वनित भएको छ । वाग्लेले भनेका छन्: “वादी स्वयंले मलाई पलले बलात्कार गरेको छैन भन्ने बयान दिइसकेपछि यो मुद्दामा अरू हेर्नू बुझ्नु पर्ने केही पनि बाँकी छैन । पलले बलात्कारको अभियोगबाट सफाइ पाउँने कुरा लगभग निश्चित भएको छ ।” वाग्लेले यति भनेपछि पल शाहलाई लभ यु पल, वी आर विथ यु! भन्ने नाराका साथ फेसबूकको फेक संसारमा नाङ्गो नाच देखाइरहेका स्त्रीद्वैषी स्त्रीहरूको मण्डली खुशीले पागल हुँदै टिकटक बनाइरहेको होला ।

पल शाहका वकिल वाग्ले महोदयले आफ्नो क्लाइण्टले बलात्कारको अभियोगबाट सजिलैसँग सफाइ पाउँने दावी गरे पनि यथार्थमा यस फौजदारी मुद्दामा त्यस्ता केही पेच छन् जसले अभियुक्त शाहका अप्ठ्याराहरूलाई जस्ताको तस्तै र जहाँको तहीँ राखिरहन्छन् । त्यस्ता पेचहरूमा पहिलो छ: पीडिताले अदालतमा पुगेपछि फेरेको बयानले मात्र पीडितामाथि बलात्कार भएको थिएन भन्न मिल्दैन भनी सर्वोच्च अदालतले स्थापित गरेको नजीर । सर्वोच्च अदालतले पल शाहमाथि लागेको मुद्दा जस्तै केही मुद्दामा निर्णय सुनाउँदै भनेको छ: “बलात्कार पीडितालाई पीडकका तर्फबाट मात्र होइन आफ्नै परिजनहरूबाट पनि तीव्र दवाब र मानसिक यन्त्रणा दिइएको हुन सक्दछ । उसलाई बलात्कारीसँग बिहे गराइदिने प्रलोभन दिइएको हुन सक्दछ । धम्क्याइएको पनि हुन सक्दछ । त्यसरी कमजोर र असहाय स्थितिमा रहेकी पीडिताले हतमनोबल अवस्थामा अदालतमा बयान फेरेकै आधारमा बलात्कारको अभियुक्तलाई सफाइ दिँदै जाने हो भने समाजमा न्यायपालिकामाथिको विश्वासमा स्खलन आउँछ । बलात्कारका घटनाहरू अदालतमा पुग्ने क्रम पनि घट्छ । समाजमा अराजकता फैलिने डर पनि ह्वात्तै बढ्न सक्छ ।”

यी पीडिता गायिकाले समाजको दवाब थेग्न नसकेर पलले ममाथि कुनै प्रकारको जोरजवर्जस्ती र मेरो शारिरिक शोषण गरेको छैन भन्ने बयान दिए पनि यो मुद्दाको अभियोजनका बेलामा जुटाइएका प्रमाण, देखिजान्ने र परिस्थितिजन्य साक्षीहरूको बयान, स्वयं पलले आधारातमा आफू गायिका सुतेको कोठामा गएको कुरा स्वीकार गर्दै अदालतमा दिएको बयान र गायिकासँग मेसेन्जरमा गरेको कुराकानीको अडियो रेकर्ड आदिले पलले नावालिग किशोरीसँग यौन सम्बन्ध राखेको थिएन भन्ने कुराको बलियोसँग खण्डन गर्दछन् । पल शाहले गायिकालाई पठाएको एउटा सन्देशमा भनेका छन्: ” दुई युवा युवतीबीच स्वैच्छाले केही यताउति भयो होला । त्यो कुन ठूलो कुरो भयो र? तिमी प्रेग्नेण्ट भएको भए समस्या हुन्थ्यो । म बिहे गर्न बाध्य हुन्थेँ । त्यस्तो त केही छैन नि । अहिलेको स्थितिमा म तिमीसँग बिहे गर्न सक्दिनँ । साथी भने सधैँ रहिरहन्छु । तिमीलाई म हरदम बोलाइरहन्छु ।” यो मुद्दामा निर्णय दिन न्यायको उच्चाशनमा बसेका न्यायमूर्तिले पलको यो म्यासेजका अक्षर र मर्मलाई दिमागमा राखेर फैसला गर्ने हो भने न्यायको रक्षा हुन्छ ।

यी गायिकामाथि भएको यौन शोषणको  घृणास्पद घटना र त्यसलाई लिएर चलेको बलात्कारको यो मुद्दाले आजका बहुसंख्यक नेपालीहरूको सामूहिक चेतनामा व्याप्त विवेकहीनता र स्त्रीद्वैषी दुर्गन्धलाई सतहमा ल्याइदिएको छ । आजको नेपाली समाज पतनको गर्तमा भास्सिदै गएको त छँदैछ यसले आफ्नो चरम् स्त्रीद्वैषी चरित्रका कारण नीचताको सबै सीमाहरू नाँघ्न खोजेको छ । समाजमा फैलिएको कुसंस्कारको गाढा तुवाँलोले पुरुषहरूको दिल दिमागमा नारीजातिलाई हेयभावले हेर्ने दोषपूर्ण दृष्टिकोण भरिदिएको छ भने स्वयं नारीहरूलाई नै नारीको परम् शत्रु बन्न अभिप्रेरित गरिरहेको छ । भरखरै यौवनको जस्केला नजिक पुग्न लागेकी एउटी उदीयमान कलाकारमाथि यौन शोषण गरेको गम्भीर अभियोग लागेको, प्रतिष्ठा र पैसाका हिसाबले धेरै बलियो पुरुषको पक्षमा लामबद्ध भएर उसमाथि न्यायिक छानबिन नै हुनुहुँदैन जस्तो गर्ने स्त्रीहरूले फैलाएको अविवेकको दुर्गन्धले मेरो समाजको वायुमण्डल विषाक्त भएको छ । नेपालीहरूको सामूहिक चेतनामा फैलिएको यो विषाक्त धुवाँले फेरि एकपल्ट एउटी कमजोर महिलाको न्यायको पुकारलाई निशब्द बनाइदिएको छ । पीडिता गायिकाले आफ्नो आवाजको आफैँले हत्या गरिदिएकी छिन् । यस्तो विषम परिस्थितिमा के अझै पनि यी गायिकाजस्ता बालिका किशोरी र महिलाहरूले न्यायालयबाट न्याय पाउलान् त !?--स्वतन्त्र समाचार

प्रकाशित मिति: सोमबार, वैशाख ५, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार