सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २ वैशाख : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाव्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग शुक्रबार छलफल गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिँदै पूर्व तयारीको समय कम भए पनि बाँकी रहेको समयलाई सक्दो सदुपयोग गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीका सचिव समेत रहेका तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक हिमालराज दाहालका अनुसार छलफलमा सहभागी अधिकांश संघका प्रतिनिधिले एसियाली खेलकुदका लागि खेलाडी कोटा कम भएको जानकारी गराएका थिए । दाहालले जनाए अनुसार एसियाली खेलकुदका लागि वैशाख तेस्रो सातासम्म खेलाडीको प्रारम्भिक छनोट गरिसक्ने सहमति पनि भएको छ ।
साथै गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको खेलस्थल, खेलाडी कोटालगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो ।
लनटेनिस टोली भारत जाँदै
आईटीएफ वल्र्ड जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ ।
बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा रामेश्वर थापा छन् ।
टिम स्पर्धामा खेल हुने छ । दुई सिंगल्स र एक डबल्समा खेल खेलाइने छ । गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रिक्वालिफाइङमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो ।
टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा शुक्रबार एक कार्यक्रम बिदाइ गरिन् ।