सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । प्ले अफ पुगिसकेको चितवन राइनोज लिग चरणको आफ्नो अन्तिम खेलमा कर्णाली याक्ससँग पराजित भएको छ । आजको पहिलो खेलमा चितवन कर्णालीसँग २४ रनले पराजित भएको हो। कर्णालीसँगको हारले ७ अंक भएको चितवन तालिकाको चौथो स्थानमा छ। चितवनले बुधबार एलिमिनेटर खेल्नेछ । चितवनले काठमाडौं गोर्खाज वा सुदूरपश्चिम रोयल्समध्ये कोसँग एलिमिनेटर खेल्ने तय हुन बाँकी छ । काठमाडौंले आज हुने पोखरा एभेन्जर्सविरुद्धको खेल जितेमा पहिलो क्वालिफायर पुग्नेछ । काठमाडौं हारेको खण्डमा सुदूरपश्चिमले लुम्बिनी लायन्ससँग पहिलो क्वालिफायर खेल्नेछ । आज कर्णालीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको चितवन ५ बल अगावै १ सय २९ रनमा अलआउट भयो । चितवनका लागि ओपनर कमिल मिसाराले २५ रनको बनाए। कुशल मल्लले १८ रन बनाउँदा मार्क वाटको बलमा एलबीडब्लु धरापमा परे। देव खनाल १४ रन बनाउँदा सोमपाल कामीको बलमा बोल्ड भए। अशोक धामी ११ रन बनाउँदा रनआउट भए । डान मुस्ली ८, सलाहुद्दिन खान ७, विवेक यादव ६, कप्तान सिकन्दर राजा २ र कमल ऐरी १ रन थप्दै पेभेलियन फर्के । कर्णालीका लागि मार्क वाट, पवन सर्राफ र हुसैन तलातले समान २ विकेट लिए। सोमपालको नाममा एक विकेट रह्यो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो । कर्णालीका लागि हुसैन तलातले अर्धशतक बनाए । उनले ३३ बलमा २ चौका र ३ छक्कासहित ५१ रन जोडे । ओपनर अरिफुल इस्लामले ३५ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झाले १८ र पवन सर्राफले १५ रन थपे। दिपक डुम्रे ७, मार्क वाट ६, डेविड मिलर ५, सोमपाल ४ रन बनाउँदै आउट भए । चितवनका लागि कमल, सलाहुद्दिन खान र उसामा मिरले समान २ विकेट, रिजन ढकाल र सिकन्दर राजाले समान एक विकेट लिए । आजै काठमाडौ गोर्खाज र पोखरा एभेन्जर्सबीच लिग चरणको अन्तिम खेल साँझ ५ बजे सुरु हुनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ । पोखरा भने अंक तालिकाको पुछारमा छ ।