सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २ वैशाख : अखिल नेपाल फुटबल संघ (एन्फा)को असार ६ गते हुने भनिएको केन्द्रीय निर्वाचनका लागि ‘बी’ डिभिजनका मताधिकार प्राप्त ११ क्लबको चयन भएको छ ।
सातदोबाटोमा शुक्रबार भएको ‘बी’ डिभिजन क्लबहरूको भेलाले १४ मध्येबाट एन्फाको केन्द्रीय कार्यसमिति चुनावका लागि मताधिकार प्राप्त ११ क्लब चयन गरेका हुन् ।
मतदानमार्फत ११ क्लब चयन गर्दा वीरगञ्ज युनाइटेड, सामाजिक यूथ क्लब र झम्सिखेल यूथ क्लब बाहिरिए ।
श्री भगवती, रानीपोखरी कर्नर टिम आरसिटी, मधयपुर यूथ एसोसिएसन, टुसाल युवा, नयाँ बस्ती, खुमलटार युवा क्लब, बाँसबारी, चर्च ब्वाइज युनाइटेड, सरस्वती, श्री कुमारी र ब्याइज युनियन क्लबले मताधिकार प्राप्त गरेका छन् ।
आगामी चार वर्षे कार्यकालका लागि असार ६ गते हुन लागेको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले नेतृत्वका लागि प्रत्याशी छन् । शेर्पा र नेम्वाङ दुवै प्यानलसहित नै चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।
‘बी’ डिभिजन क्लबमध्येबाट दुवै पक्षका पाँच/पाँच क्लबले मताधिकार पाएको दाबी गरिएको छ । चर्च ब्वाइज, बाँसबारी, टोखा, खुमलटार र आरसिटी नेम्वाङ पक्षका क्लब हुन् भने टुसाल, सरस्वती, मध्यपुर, ब्वाइज युनियन र श्री कुमारी शेर्पा पक्षका क्लब हुन् । नयाँ बस्ती भने तटस्थ रहेको बताइएको छ ।
एसियाली र नवौं राष्ट्रिय खेलकुद बारे छलफल
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाव्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसँग शुक्रबार छलफल गरेको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिँदै पूर्व तयारीको समय कम भए पनि बाँकी रहेको समयलाई सक्दो सदुपयोग गरी प्रशिक्षणलाई व्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
राखेपले गठन गरेको हाइ पर्फमेन्स कमिटीका सचिव समेत रहेका तालिम तथा प्रशिक्षण विभागका उप निर्देशक हिमालराज दाहालका अनुसार छलफलमा सहभागी अधिकांश संघका प्रतिनिधिले एसियाली खेलकुदका लागि खेलाडी कोटा कम भएको जानकारी गराएका थिए । दाहालले जनाए अनुसार एसियाली खेलकुदका लागि वैशाख तेस्रो सातासम्म खेलाडीको प्रारम्भिक छनोट गरिसक्ने सहमति पनि भएको छ ।
साथै गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुदको खेलस्थल, खेलाडी कोटालगायतका विषयमा पनि बैठकमा छलफल भएको थियो ।
शुक्रबारै दिउँसो चाँढोगरी भएको ‘सी’ डिभिजन क्लबको चुनावमा नेम्वाङ पक्षले बाजी मारेको थियो । ‘सी’ डिभिजनका १४ मध्ये ९ क्लबले मताधिकार पाउनेमा नेम्वाङ पक्षका आठ र शेर्पा पक्षको एक क्लब सफल भएको दाबी गरिएको थियो ।