भरतपुरको २९ वडाका कांग्रेस सभापतिको एकै स्वर- माओवादीले मेयर पाए सबै पदमा स्वतन्त्र उम्मेदवार

मंगलबार, चैत २९, २०७८

चितवन, २९ चैत : भरतपुर महानगरपालिकाको मेयर पद नेकपा माओवादी केन्द्रलाई छाड्ने सत्ता गठबन्धनको अनौपचारिक निर्णय बाहिरिएपछि कांग्रेसको महानगरका वडा सभापतिहरूले असन्तुष्टि जनाएका छन् ।

सत्ता गठबन्धनका दलले अघिल्लो चुनावमा जितेका पद यथावत् रूपमा पाउने र एमालेले जितेका पदमा भागबन्डा गर्ने अनौपचारिक निर्णय बाहिरिएको थियो । उक्त निर्णय कार्यान्वयन भएमा भरतपुर महानगरपालिका स्वतः माओवादी केन्द्रले पाउने छ ।

नेपाली कांग्रेस वडा नम्बर १९ का सभापति आसमान तामाङको अध्यक्षतामा मंगलबार जिल्ला पार्टी कार्यालय कमलनगरमा बसेको वडा सभापतिको बैठकले केन्द्रीय निर्णयको विरोध गरेको हो । अनौपचारिक निर्णयअनुसार भएमा मेयर, उपमेयरसहित सबै वडामा स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका छन् । 

Avatar

वडा सभापतिको संयुक्त निर्णय विपरीत गठबन्धन गरिएमा भरतपुर महानगरमा मेयर, उप–मेयर र सबै वडामा अध्यक्षसहितका उम्मेदवार खडा गर्ने भरतपुर–१९ कांग्रेस सभापति तामाङले बताए ।  

बैठकको निर्णय वडा सभापतिहरूले केन्द्रमा पठाउन भन्दै जिल्ला सभापति राजेश्वर खनाललाई हस्तान्तरण गरेका गरेका छन् । निर्णय बुझ्दै जिल्ला सभापति खनालले आफ्नो चाहना पनि वडा सभापतिहरूको निर्णयसँग मेल आएको बताए ।  

केन्द्र, जिल्ला र महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि वडा सभापतिहरू कुनै पनि गठबन्धनको पक्षमा नरहने निष्कर्ष निकालेका छन् । वडा सभापतिहरूले आफूहरूले भनेको नभए गठबन्धनका सबै उम्मेदवारहरूलाई बहिस्कार गर्ने निर्णय पनि गरेका छन् । 

देउवालाई दबाब दिन कास्की कांग्रेसका नेता काठमाडौंमा

केन्द्रीय नेतृत्वबाटै पोखरा महानगरको प्रमुख पद गुम्ने खतरा देखेपछि कास्की कांग्रेसका नेताहरू काठमाडौं पुगेका छन् । सभापति किशोरदत्त बरालसहितको टोलीले केन्द्रीय नेताहरूलाई दबाब दिने र पोखराको मेयर आफैले पाउनुपर्ने माग राख्ने छन् । टोलीमा पुर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेशमन्त्री विन्दुकुमार थापासहितका नेता छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई बुधबार भेटेर पोखराको जनमतबारे स्पष्ट पारिने सभापति बरालले बताए । ‘अहिलेसम्म निर्णय भएको छैन । कांग्रेसबाहेक अरुले जित्न सक्दैन भन्ने स्थापित गराउन हामी काठमाडाै‌ पुगेका हौं,’ उनले भने, ‘जिल्लामा कसैले पनि मेयर छोड्न मान्दैनन् । अरुलाई दिएर चुनाव जित्न पनि सकिँदैन ।’  

डेढदेखि दुई सय जना नेताकार्यकर्ताले केन्द्रीय कार्यालय घेराउ गर्ने सचिव भानु ढकालले बताए । ‘गठबन्धन गर्ने निर्णय ठिकै छ । तर, जनतमतको आधारमा केन्द्रीय समितिले महानगर विभाजन गर्न लागेपछि त्यसको विरोध गरेकाे हो । जनमतको आधारमा विभाजन हुनुपर्छ,’ उनले भने, ‘हामी मेयर छोडेर जान सक्ने अवस्थामा छैनौं । डालाको चामल मानामा खन्याउँदा पोखिन्छ । मानोको चामल डालोमा हाल्दा ठिक हुन्छ । पोखरामा कांग्रेस डालो हो, अरु माना हुन् ।’

उपमेयर भने गठबन्धनका कुनै दललाई दिन सकिने उनीहरूको सुझाव छ । केन्द्रीय गठबन्धनका नेताहरूको धारणाअनुसार पोखरा नेकपा एकीकृत समाजवादीको भागमा पर्न सक्ने संकेत छ । यद्यपि, यसबारे अझै निर्णय भैसकेको छैन । ‘निर्णय सच्याउनुपर्छ, नत्र हामी अस्विकार गर्छौं । जबरजस्ती निर्णय लाद्न खोजे आफै निर्णय गरेर पोखरामा कांग्रेस जिताउँछौं,’ पूर्वमन्त्री यज्ञबहादुर थापा भन्छन्, ‘प्रमुख पद छोड्नु कांग्रेसका लागि महंगो हुनेछ ।’

अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार करिब १४ हजार मतान्तरले पराजित भएको पोखरामा अहिले एमालेबाट एकीकृत समाजवादीका रुपमा फुटेपछि कांग्रेसलाई जित्ने आस छ । माओवादी पनि अघिल्लो चुनावमा आफूहरूले कांग्रेसलाई सहयोग गरेको भन्दै पैंचो फिर्ता हुनुपर्ने माग राखेको छ । समाजवादीले समेत मेयरमा  जित्ने दावी पेश गरेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  २२:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार