सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २९ चैत : सत्ता गठबन्धनले तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकले एमालेबाट एकीकृत समाजवादी रोजेका स्थानीय तहका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
नेतृत्व बाँडफाँट टुंगो लगाउन निर्देशन
सत्ता गठबन्धनका दलहरुको बैठकले स्थानीय तह निर्वाचनका लागि गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।
आज बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकले यस्तो निर्देशन दिएको हो । नेतृत्व बाँडफाँट गरेर केन्द्रमा पठाउन जिल्ला संयन्त्रलाई निर्देशन दिएको हो ।
गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन तोकिएको छ ।
चुनावी तालमेलको लागि यस्ता छन् आधार
सत्तागठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले आगामी वैशाख पहिलो सातासम्म निर्वाचनमा सिट बाँडफाँट गर्ने बारेमा समेत सहमति गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।
बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख सिट बाँडफाँट गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने, नगरपालिका तथा गाउँपालिकाको प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको सिट बाँडफाँट जिल्ला संयन्त्रले प्रदेश संयन्त्रलाई सिफारिस गर्ने, प्रदेशले वैशाख ५ गतेभित्र केन्द्रमा पठाउने निर्णय गरेको उनले बताए । सबै तहका वडाको अध्यक्ष र सदस्यको सिट बाँडफाँट भने जिल्लास्तरीय संयन्त्रले वैशाख ३ गतेभित्र टुङ्गो लगाउने बैठकले निर्णय गरेको छ । यसैगरी बैठकले विसं २०७४ को स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारहरूलाई मान्ने, गत स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार, स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागीलगायत आधार मान्ने बैठकको निर्णय छ ।