सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २९ चैत : निर्वाचन आयोगले भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको छ । स्थानीय तह निर्वाचन आउन ३१ दिन बाँकी रहेका बेला आयोगले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएको हो । उनको ठाउँमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको हो ।
आयोगले यसअघि ७१ जना मुख्य निर्वाचन अधिकृत हेरफेर गरेको थियो । आयोगको २८ चैतमा बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको हो । मुख्य निर्वाचन अधिकृत परिवर्तनबारे आयोगले केही खुलाएको छैन । आयोगले मुख्य निर्वाचन अधिकृत हेरफेर सामान्य विषय भएको जनाएको छ ।
यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका मतपत्र च्यातिएको थियो । जसमा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले सहयोगी भूमिका खेलेको भन्दै एमालेले कारवाहीको माग गर्दै न्याय परिषद्मा उजुरी दिएको थियो । न्याय परिषद्को सिफारिसमा नै आयोगले मुख्य निर्वाचन अधिकृत तोक्ने गर्छ । सोही आधारमा मुख्य निर्वाचन अधिकृत हेरफेर गरिएको आयोगले प्रष्ट पारेको छ ।
'अस्वस्थ्य भएकाले जिम्मेवारी नलिएको हुँ'
निर्वाचन आयोगले चितवनका निर्वाचन अधिकृत परिवर्तन गरेको विषयमा विभिन्न टिकाटिप्पणी हुँदा न्यायाधीश हेमन्त रावलले प्रस्टीकरण दिँदै निर्वाचन निष्पक्षतामा शंका नगर्न आग्रह गरेका छन् ।
भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावलको सट्टा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको विषयमा विभिन्न टिकाटिप्पणी भएपछि रावलले प्रस्टीकरण दिएका हुन् ।
गत २६ चैत देखि रिंगटा लाग्ने र बान्ता हुने समस्याले दुई दिनको अस्पताल बसाईपछि हाल घरमा आराम गररहेको उनले जनाएका छन्उँ । अझै बेडरेष्ट गर्नुपर्ने भएकाले जिम्मेवारी लिन स्वयंले आग्रह गरेकाे उनकाे भनाइ छ । ‘स्वास्थ्य अवस्थामा तत्काल पूर्ण सुधार आइनसकेको अवस्थामा थप केही दिन घरमै आराम गर्नु पर्ने भन्ने चिकित्सकको सल्लाह बमोजिम म अहिले घरमै आराम गरिरहेको छु,’ रावलको प्रस्टीकरणमा भनिएको छ, ‘मेरो यो असहज अवस्थामा मैले निर्वाचन आयोगमा गरेकोे अनुरोध बमोजिम नै आयोगबाट हिजो चितवनको मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी हेरफेर गरी न्याय परिषद्बाट पहिले नै सिफारिस गरिएका न्यायाधीशको सुचीमा रहेका चितवन जिल्ला अदालतका अर्का सहकर्मी माननीय न्यायाधीश नै मुख्य निर्वाचन अधिकृतको जिम्मेवारीमा तोकिएको अवस्था हो ।’
उनले निर्वाचनको निष्पक्षतामाथि आशंका नगर्न पनि आग्रह गरेका छन् । ‘मेरो शारीरिक अस्वस्थताको कारण उत्पन्न हुन गएको यो परिस्थितिलाई सोही रूपमा बुझिदिनु हुन र निर्वाचनको निष्पक्षतामा असर पर्ने गरी आयोग र अन्य कुनै राजनीतिक दलप्रति कुनै किसिमको टिकाटिप्पणी नगरि दिनु हुन म सबैमा हार्दिक अनुरोध गर्दछु’ रावलको अपिल छ ।