उम्मेदवार सिफारिस गर्न नै मतदान

मंगलबार, चैत २९, २०७८

दमौली, २९ चैत  । नेकपा एमाले भिमादनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनमा प्रमुख पदको उम्मेदवार छनोटका लागि मतदान गरेको छ । प्रमुख पदका लागि आठ जना आकाङ्क्षी भएपछि भिमाद नगर कमिटीले आज मतदानमार्फत् दुई जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । मतदानमार्फत् भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा र दधिराज सुवेदी प्रमुख पदका उम्मेदवारका लागि सिफारिस भएका छन् । थापाले ५७ र सुवेदीले ५८ मत प्राप्त गरेका  छन् । वर्तमान नगरप्रमुख मेख् बहादुर थापाले ३६ मत प्राप्त गरे  ।

यसैगरी उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएकी  छन्  । एमालेको विधान बमोजिम प्रमुख र उपप्रमुखमा क्रमशः दुई पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदान मार्फत् उम्मेदवार सिफारिस गरिएको बताइएको छ घिरिङ गाउँपालिकामा पनि उम्मेदवार सिफारिसका लागि मतदान भएको छ । एमालेले मतदानमार्फत् अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा दश जना आकाङ्क्षी भएपछि गाउँ कमिटीले मतदानमार्फत् उम्मेदवार टुङ्गो लगाएको हो । 

अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन्  । उपाध्यक्षमा भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकेन्  । उपाध्यक्षका लागि दुर्गा थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस भएका  छन्  ।


 

प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार