सोसल मिडिया
Contact Us
युनिकोड
कञ्चनपुर । मातृभूमिको रक्षाका लागि ज्यानको आहुति दिने कञ्चनपुरको पुनर्वास नगरपालिका– ८ आनन्द बजारका ३६ वर्षीय शहीद गोविन्द गौतमको चौथो स्मृति दिवस मनाइएको छ । दिवसका अवसरमा नगरपालिकाका नगर प्रमुख जीवनराज थापाले शहीद गोविन्द गौतमको शालिकमा माल्यार्पण गर्दै नेपाली भूमिरक्षाका लागि आफ्नो ज्यानको आहुति दिएका शहीद गौतम देशकै आदर्शका रुपमा रहेको बताए । कार्यक्रमा उनले शहीद गौतमका छोरीलाई नगरपालिकाका तर्फबाट पठनपाठनका लागि सघाउ पु¥याउन आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । नगर प्रमुख थापाले शहीद गौतमका परिवारलाई नगरपालिकाबाट हुनसक्ने सहयोग निरन्तररुपमा गरिने बताए । शहीद गौतमको स्मृतिमा उद्यान निर्माणको कार्यलाई प्राथमिकतामा राखेर कार्य अगाडि बढाइने उनको भनाइ थियो । कार्यक्रममा शहीद गौतमका बुवालाई नगर प्रमुख थापाले दोसल्ला ओढाइ सम्मानसमेत गरेका थिए । ‘हिजोका दिनमा भारतको रानी नगरमा सीमा पिल्लर देखेका थियौँ’, नगर प्रमुख थापाले भने, ‘अहिले भारतले नेपाली स्वामित्व भएको जमीन पनि कब्जा गरेको छ ।’ सीमा क्षेत्रका जनतामाथिको भारतीय ज्यादति सशस्त्र प्रहरी बलका बिओपी राखिएपछि केही कम भए पनि भारतसँगको सीमा क्षेत्रका विवाद यथावत रहेको उनले बताए । विसं २०७३ फागुन २६ गते भारतीय सीमासुरक्षा बल एसएसबीले गोली हानी गौतमको हत्या गरेका थिए । बुबा खेमलाल र आमा हरिनादेवीका तीन सन्तानमध्ये गोविन्द माइला छोरा हुन् । कल्भर्ट राख्ने विषयमा विवाद हुदा भारतीय एसएसवीले गौतममाथि गोली प्रहार गरेका थिए ।–रासस