सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, २६ चैत । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का पूर्वकुलपति वरिष्ठ कलाकार किरण मानन्धरले बुद्धभूमिका कलाकार शान्तिका अनुयायी भएको बताएका छन् । आज विश्व शान्तिको कामना गर्दै वसन्तपुर दरबार स्क्वायरमा भएको प्रत्यक्ष कला प्रदर्शनी कार्यक्रममा मानन्धरले भने, “हामी बुद्धभूमिका कलाकार शान्तिका अनुयायी हौँ, विश्वभरि शान्ति छाओस् ।” उनले साना–साना भाइबहिनी कलाकार आफ्ना लागि गुरु र प्रेरणा भएको बताए । ‘युद्ध त्यागौँ, बुद्ध रोजौँ’ भन्ने अपिलका साथ विश्व शान्ति कला कार्यक्रम आयोजना गरिएको हो । स्वतन्त्र, सिर्जनशील कलाकारको पहलमा भएको कार्यक्रममा वरिष्ठ कलाकार राधेश्याम मुल्मी, नरेश सैँजू, जीवन राजोपाध्याय, राजु पिठाकोटे, राजन खड्का, सुनिता राणालगायत कला क्याम्पस र विद्यालयका कलाकारले शान्तिको सन्देश दिने सुन्दर चित्र स्थलगतरूपमा बनाएका थिए । उनान्साठी कलाकार तथा स्वयंसेवी कार्यक्रममा सहभागी भएको कार्यक्रम संयोजक सुवास क्षितिज श्रेष्ठले बताए । उनले आफ्नो त्रिआयामिक प्रतिष्ठान कलामार्फत ब्रह्माण्डकै एक्लो जीवनयुक्त हाम्रो घर पृथ्वीलाई महाविध्वंशबाट बचाउन युद्ध होइन, फूल रोजौँ भन्ने प्रतिकात्मक कला प्रस्तुति गर्नुभएको थियो । यसअघि पनि आफूहरूले विभिन्न हिंसा र त्रास रोक्ने समय सन्दर्भ पारेर काम गरेको उनले बताए । सन् २००६ को विश्वकपमा फ्रेन्च खेलाडी जिनेदिन जिदानमाथि भएको व्यवहार र टाउको ठोक्याउनेसम्मका गतिविधि मैदानमा भएपछि श्रेष्ठलगायतको पहलमा कलामार्फत नै फुटबललाई एक खेलको रूपमा मात्रै लिएर पक्ष–विपक्षमा लागेर हिंसा नभड्काउन कामना गर्दै कला प्रस्तुत गरिएको थियो । त्यस्तै संयोजक श्रेष्ठका अनुसार सन् २०१२ मा विश्व ध्वस्त हुँदैछ भनेर अफवाह फैलाइँदा जताततै अत्यास छाइरहेका बेलामा उनीहरूले कलामार्फत नै शान्त रहन आग्रह गरेका थिए । हाल रुसले युक्रेनमाथि आक्रमण गरेको ४५ दिन भइसकेको छ र यो युद्ध अझै रोकिएको छैन ।–रासस