सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । कोरोनाभाइरसबाट सबैभन्दा धेरै संक्रमित र मृत्यु हुने देश अमेरिका बन्न पुगेको छ । फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोभिड–१९ का कारण अमेरिकामा हालसम्म दुई लाख पचास हजार जनाभन्दा बढीको ज्यान गइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र संक्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो । अहिले त्यहाँ पुनः एक पटक देशैभरि संक्रमण बढ्दो छ । हरेक दिन दैनिक वृद्धिमा नयाँ कीर्तिमान कायम भइरहेको छ ।
विज्ञ बुझाइ देशका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले देश ‘एकदमै महत्वपूर्ण समयमा गलत दिशामा गइरहेको’ बताएका छन् । किनकि जाडो बढ्दै गर्दा मानिसहरू घरभित्र बढी सीमित हुनेछन् । गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले संक्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । अधिकारीहरूका अनुसार भाइरस संक्रमण दर जाँचको तीन प्रतिशतभन्दा बढी भएपछि अमेरिकाको सबैभन्दा ठूलो सार्वजनिक विद्यालय प्रणाली बन्द गर्ने निर्णय गरिएको हो । कतिपय विद्यालयले बाहिरै पढाएका थिए । यसले तीन लाख बालबालिकालाई असर पर्नेछ । त्यहाँ रेस्टुराँ र जिमखाना भने खुला रहेनछन् । कक्षाकोठाहरूमा भएको संक्रमण निकै कम देखिएकाले अहिलेको संक्रमण वृद्धि विद्यालयका कारण चाहिँ नभएको बताएका छन् ।
मृतक बढ्न सक्ने फाउचीले नयाँ संक्रमण बढेसँगै मृतकको संख्या थपिन सक्ने चेतावनी दिएका छन् । उनले अहिले आफूहरू एकदमै गम्भीर स्थितिमा रहेको बताए । उनले मानिसहरूलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न पुनः आह्वान गरेका छन् । खोप विकास नहुन्जेलसम्म यस्ता सुरक्षात्मक उपाय अपनाउन उनको आग्रह छ ।
खोप विकासमा के भइरहेको छ ? फाइजर र बायोएनटेकले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूले विकास गरेको खोपले ६५ वर्ष माथिका मानिसहरूमध्ये ९४ प्रतिशतलाई भाइरसबाट जोगाउने देखिएको छ । गत साता फाइजर र बायोएनटेकले प्रारम्भिक विवरण दिँदै उनीहरूले विकास गरेको खोपले ९० प्रतिशत काम गर्ने र त्यसबाट कुनै स्वास्थ्य सुरक्षासम्बन्धी खतरा नहुने जनाएका थिए । अमेरिकी कम्पनी मोडेर्नाले पनि उसले विकास गरेको खोपले ९५ प्रतिशत सुरक्षा दिने जनाएको थियो । रुसमा विकास गरिएको अर्को एउटा खोपले पनि त्यस्तै सुरक्षा दिने दाबी गरिएको छ ।
खोपको खर्च यसैबीच विश्व स्वास्थ्य सङ्गठनले ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रका २० प्रतिशत जनसंख्यामा कोभिड–१९ विरुद्ध खोप लगाउनका लागि दुई अर्ब डलरभन्दा बढी खर्च लाग्ने बताएको छ । क्षेत्रीय निकाय पान अमेरिकन हेल्थ अर्गनाइजेसनले भनेको छ, ‘आगामी वर्षको अन्त्यसम्ममा उसले त्यस क्षेत्रमा कम्तीमा दुई अर्ब डोज खोप उपलब्ध गराउने लक्ष्य राखेको छ ।’ यद्यपि उक्त संस्थाका एकजना प्रवक्ताले यो सबैका लागि पर्याप्त नहुने बताए । उसले खोप कार्यक्रममा सहयोगका लागि त्यस क्षेत्रका सरकारहरूसँग नजिक रहेर काम गरिरहेको जनाएको छ । बीबीसी