कपिलवस्तुमा इँटा बनाउँदै स्कुले बालबालिका

सोमबार, चैत २१, २०७८

चन्द्रौटा, २१ चैत  ।  सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् । 

उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् । सकिलको परिवार भारतको बरेलीबाट रोजगारीका लागि यहाँ आएको हो । उनको परिवार कपिलवस्तुको फाइबस्टार इँटा उद्योगमा इँटा बनाउने काम गर्छ । सकिल दिनभरी इँटा बनाउँछन् । बालबालिकालाई श्रममा लगाउन नपाइने भए पनि जिल्लाका अधिकांश इँटा उद्योगमा परिवारसँगै उनीहरु पनि इँटा बनाउने गर्छन् । 

विद्यालय जाने उमेरका बालबालिका इँटा बनाउनमा ब्यस्त देखिन्छन् । खासगरी भारतीय बालबालिका इँटा उद्योगमा मजदुरी गर्दैआएका छन् । भारतको बरेलीबाट सपरिवार मजदूरी गर्न आएका अम्जद खानका १६ वर्षीय छोरा करम र १३ वर्षीय रुक्सान परिवारसँगै इँटा उद्योगमा काम गर्दै आएका छन् । नेपाल आउनु अघि करम  भारतमा अध्ययन गर्थे । नेपाल आएपछि उनले पढ्न छोडेको बताए । 

नेपालमा धेरै भारतीय नागरिकका छोराछोरीले इँटा उद्योगमा काम गरिरहेको शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीले बताए  । बालबालिकालाई काम गर्न लगाउने इँटा उद्योगको नवीकरण नगरिने उनी  बताउछज्  । दलित मानव अधिकार निगरानी समितिका अध्यक्ष मिना परियार श्रमिकका बालबालिकाको शिक्षाका विषयमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउछन्  । शिवराजसँगै महाराजगञ्ज र बुद्धभूमि नगरपालिकाका इँटा उद्योगमा ४०० भन्दा बढी बालबालिका इँटा उद्योगमा काम गर्छन् । शिवराज नगरपालिकाले इँटा उद्योगमा कार्यरत बालश्रमिकलाई अनौपचारिक शिक्षा प्रदान गर्न तीनमहिने कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । 
 

प्रकाशित मिति: सोमबार, चैत २१, २०७८  १४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार