सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । यस वर्षको महाशिवरात्रिको प्रचारप्रसारका लागि पशुपति क्षेत्रमा सांस्कृतिक झाँकीसहित शोभायात्रा निकालिएको छ । पशुपति क्षेत्र विकास कोषको नेतृत्वमा नेपाल वेद विद्याश्रमलगायत १०० वटा धार्मिक सङ्घसंस्थाको सहभागिता रहेको शोभायात्राको शुभारम्भ संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकालले गरे । शोभायात्रामा कर्मचारीसहित पाँच हजारभन्दा बढीको उपस्थिति थियो । मन्दिर परिसरबाट आरम्भ भएको शोभायात्रा पिङ्गलास्थान, गौशाला जयवागेश्वरी, सिफल, लामपोखरी हुँदै चावहिल गणेशस्थानसम्म पुगेको थियो । पुनः त्यही मार्गबाट फर्किई जयवागेश्वरीबाट मूल मन्दिरअघि पुगेर यात्रा समापन गरिएको थियो । यात्रामा सहभागीले ‘ॐ नम ः शिवाय’, ‘जय शम्भो’, ‘हर हर महादेव’ जस्ता मन्त्रोच्चारण गरेका थिए । समापनका अवसरमा कार्यकारी निर्देशक खतिवडाले आज बेलुकी पशुपतिनाथ मन्दिरमा दीप प्रज्वलन र बुधबार बिहान महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिने जानकारी दिए । महाशिवरात्रिका अवसरमा पशुपति दर्शन गर्न आउने भक्तजनलाई मास्कसहित सुरक्षा मापदण्ड पूरा गर्न पनि उनले आह्वान गरे । महाशिवरात्रिका विषयमा थप जानकारी दिन कोषले आज दिउँसो पत्रकार सम्मेलनको समेत आयोजना गरेको जनाइएको छ । शोभायात्रामा मारवाडी सेवा समिति नेपालले पानी एवं सर्वतको व्यवस्था गरेको थियो ।
पशुपतिनाथमा एक वर्षपछि विशेष पूजा शुरु फाल्गुण कृष्ण त्रयोदशीका दिन पर्ने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । यसैबीच कोरोना महामारीका कारण गत वर्ष चैतदेखि रोकिएको विशेष पूजा पनि महाशिवरात्रिका अवसरमा आजैदेखि शुरु भएको छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर रु एक हजार १०० देखि रु २७ हजारसम्मका विशेष पूजा आजदेखि शुरु गरिएको कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए महाशिवरात्रिका दिन भने पशुपतिनाथ मन्दिरमा रु पाँच हजार ५०० र ११ हजार गरी दुई किसिमका विशेष पूजामात्र गरिने पनि उनले बताए । पाँच हजार ५०० रुपैयाँ पूजा गर्ने दुईजना कर्ता र ११ हजार रुपैयाँको रसिद काटेर विशेष पूजा गर्ने चारजना कर्तालाई पशुपतिनाथ मन्दिरमा दर्शनको व्यवस्था मिलाइएको छ ।–रासस