सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । १११औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा विभिन्न सङ्घ सङ्गठनले सोमबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस, अनेरास्ववियुलगायतले महिला अधिकार संरक्षणका लागि ‘आइएलओ अभिसन्धि १९० पारितका लागि दबाब सिर्जना गरौँ’ भन्ने नारासहित प्रदर्शन गरेका हुन् । कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री जुलीकुमारी महतोले दिवसका अवसरमा शुुभकामना दिइन् । ट्रेड युुनियन कांग्रेसको राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालले दुुई दशकअघिदेखि आइएलओ अभिसन्धि पारितको कुरा उठाउँदै आए पनि अहिलेसम्म संसद्बाट अनुमोदन हुन नसकेको बताइन् । ट्रेड युनियन कांग्रेसका पूर्वाध्यक्ष लक्ष्मणबहादुर बस्नेतले अभिसन्धि पारित गर्न सरकारलाई दबाब दिनुपर्नेमा जोड दिइन् । ‘अभिसन्धि पारित नभए अहिलेसम्म श्रमिक अधिकारका लागि भएका र गरिएका कार्य व्यर्थ हुनेछ’, उनले भनिन् ।
सांसद चौधरी सम्मानित
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा कन्फडरेसन अफ अल इन्डिया ट्रेडर्सले प्रतिनिधिसभा सदस्य चन्दा चौधरीलाइ सिएआइटी वुमन इन्टरप्रेनियरसिप अवार्डद्वारा सम्मानित गरेको छ । भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा उहाँलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । सो पुरस्कार भर्चुअलरूपमा ग्रहण गरिएको हो । सांसद चौधरीले विगत दुई दशकदेखि महिला सशक्तीकरण तथा सामाजिक रुपान्तरणमा काम गर्दै आउनुभएकाले उक्त अवार्डबाट सम्मानित गरिएको जनाइएको छ्र । नेपाल भारत महिलामैत्री समाजका अध्यक्ष सांसद चौधरी विगत दुई दशक यस क्षेत्रमा क्रियाशील छिन् । सांसद चौधरीले ग्रामीण महिला तथा विपन्न महिलालाई सीपमूलक तालीम उपलब्ध गराउनुुपर्नेमा जोड दिँदै त्यसले उनीहरूलाई आर्थिक रुपान्तरणमा सहयोग गर्ने बताइन् ।–रासस